शुक्रबार, बैशाख ०७, २०८१

निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थामा कडाइ

काठमाडौँ,२५ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौँले यही वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखी सुरक्षा व्यवस्थालाई कडाइ गरेको छ । परिसरका प्रवक्ता प्रद्युम्नकुमार कार्कीले स्थानीय तहको निर्वाचनका समयमा कुनै पनि दुर्घटना नहोस् भन्ने उद्देश्यले महाशाखाले सुरक्षा व्यवस्थामा कडाइ गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गत चैत १५ गतेदेखि हालसम्म पाँच हजार ६३३ व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेर छाडेका छौँ ।

निर्वाचनका समयमा अप्रिय घटना नहोस् भन्ने उद्देश्यका साथ गुन्डागर्दी गर्दै हिँडेका ३४ जनालाई प्रहरीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही पनि गरेको परिसरले जनाएको छ ।

यस्तै परिसरले भक्तपुर र ललितपुर परिसरसँग मिलेर अवैध हातहतियार, विस्फोटक पदार्थका कारोबार एवम् प्रयोगमा नियन्त्रण गर्न नाकामा २४ सै घन्टा ‘चेक प्वाइन्ट’ खडा गरी जाँच गर्ने व्यवस्था मिलाएको तथा लागुऔषध र अवैध सामान भित्रिनसक्ने कुरालाई ध्यानमा राखी नाकामा बसेर शङ्का लागेका व्यक्तिलाई जाँच गरिएको प्रवक्ता कार्कीले बताउनुभयो ।

यसैगरी परिसरले लागुऔषध ओसारपसार, अपहरण, कर्तव्य ज्यान आदिमा फरार अभियुक्तलाई पक्राउ गरी थुनामा समेत पठाएको छ । वैशाख ३१ गते काठमाडौँ जिल्लाका एक महानगरपालिका र १० नगरपालिका गरी ११ स्थानीय तहको मतदान छ सय ८७ मतदान केन्द्रमा हुँदैछ ।