शुक्रबार, बैशाख ०७, २०८१

चालु आर्थिक वर्षको बजेटमा २ खर्ब ४४ अर्ब कटौती

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा कटौती गरेको छ । पूर्वअर्थमन्त्री जनार्दन शर्माले ल्याएको १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरको बजेट आइतबार अर्धवार्षिक समीक्षामार्फत घटाइएको हो ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक वर्षको बजेटको आकार घटाएर १५ खर्ब ४९ अर्ब बनाएका छन् । बजेट २ खर्ब ४४ अर्ब अर्थात् १४ प्रतिशतले कटौती भएको छ । नेपालको इतिहासमै पहिलोपटक चालु आर्थिक वर्षमा राजस्व संकलन घटेपछि अर्धवार्षिक समीक्षामार्फत राजस्व संकलनको लक्ष्य पनि घटाइएको छ ।

यसअघि १४ खर्ब ३ अर्ब राजस्व संकलन गर्ने लक्ष्य दिइएकोमा अब यस्तो लक्ष्य १२ खर्ब ४४ अर्ब ७५ करोडमा झारिएको छ । आइतबार चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिनिधिसभामा पेस गर्दै अर्थमन्त्री पौडेलले चालु आर्थिक वर्षको बजेटमा राखिएको आर्थिक वृद्धिदरको ८ प्रतिशतको लक्ष्य पूरा नहुने बताए ।

उनले पर्यटन क्षेत्रमा केही सुधार भएपनि उत्पादनमूलक उद्योग पूर्ण क्षमतामा चल्नसक्ने नदेखिएकाले आर्थिक वृद्धि लक्ष्य अनुसार नहुने देखिएकाले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशतको लक्ष्य पूरा हुने नदेखिएको बताए । अर्थमन्त्री पौडेलले आयात नियमनको असर र आपूर्तिमा आएको सुस्तताका कारण राजस्व संकलनमा दबाब परी देशको अर्थतन्त्र चरम दबाबमा रहेको पनि बताए ।

उनले राजश्व प्रणालीले अनिवार्य दायित्वमा छुट्याएको रकमसमेत नपुग भएको बताए । उनले सरकारलाई तत्कालीन र दीर्घकालीन प्रकृतिका दायित्वले झनै दबाब थपिएको भन्दै सरकारले लिएको आर्थिक वृद्धिदरको लक्ष्यसमेत हासिल नहुने उनले बताए ।