काठमाडौं । अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकताको पुनःप्राप्तिका लागि कानुन बमोजिम प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रवि लामिछानेको सांसद पद खारेज गरेको छ । यससँगै उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पद पनि गुमाएका छन् ।
फैसलापछि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा पत्र बुझाएका छन् । लामिछानेले सर्वोच्चको फैसलाको स्वागत र सम्मान गर्ने बताए । साथै आफू अनागरिक भएकाले अरु कुनै पनि विषयमा जवाफ नदिने बताएका छन् ।
रास्वपा नेताहरु भने पार्टीको पूर्वनिर्धारित बैठकहरु स्थगित गरेर छलफलमा जुटेका छन् ।
सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ ।
हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाक सभापतिको जिम्मा दिने निर्णय भएको प्रवक्ता डा. मुकुल ढकालले बताए । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् ।