शुक्रबार, बैशाख ०७, २०८१

छक्का पञ्जा ४ जापानभर प्रदर्शन हुँदै, मार्च १२ तारिख टोकियो शो चल्ने

टोकियो । यस बर्षको सुरुवातबाट ओरालो लागेको नेपाली चलचित्र उद्योगको व्यापारलाई गतिदिनसक्ने आशावादी चलचित्रको रुपमा हेरिएको बहुप्रतिक्षित चलचित्र छक्का पञ्जा ४ जापानका सबै प्रमुख शहरहरुमा प्रदर्शन हुने भएको छ ।

जापानमा अहिलेसम्मकै धेरै शहरमा प्रदर्शनको किर्तिमान बनाउन लागेको चलचित्र छक्का पञ्जा ४ दुई महिना पहिलेनै एक दर्जन शहरमा प्रदर्शन तय भइसकेको जापानका लागि चलचित्र वितरणको अधिकार पाएको आन्भी ईन्टरटेनमेन्टका पवन थापा बताउनुहुन्छ ।

छक्का पञ्जाको यसअघिका तीन सिरिजमा अत्यधिक सफलता र चलचित्रको व्यापारले नेपाली चलचित्र उद्योगमा किर्तिमान बनाएको समुहले नै चलचित्र छक्का पञ्जा ४ लाई निर्माण गरेको छ । हाल चलचित्रको छायांकन पश्चात पोष्टप्रोडक्सनमै रहेको चलचित्रले नेपालमा फागुन १९ गते प्रदर्शन मिति तय गरेको छ ।

हालसम्म जापानको राजधानी टोकियो सहित नागोया, ओसाका, कोबे, क्योतो, तोचिगी, चिबा, शिजुओखा, हिरोसिमा, ओकिनावा, फुकुओका, योकोहामा, गुन्मा, सेन्दाई लगायतका शहरमा प्रदर्शन हुने तय भइसकेको चलचित्र वितरणको जिम्मेवारी सम्हाल्नु भएका उमेश खड्काले जानकारी दिनुभयो ।

यस बाहेक प्रदर्शनको लागि तयारी भइरहेका अन्य स्थानहरुमा क्युसुको ओगोरी, तोसु, कुरुमे सहित फुस्सा, नागासाकी, कुमामोतो, ओइता, फुकुशिमा लगायत शहर छन् । जापानको दुई दर्जन शहरबाट चलचित्र प्रदर्शन गर्न चाहेको भन्दै प्रस्ताव आएको र आफुहरुले ठाउँ तथा उक्त स्थानमा नेपालीहरुको उपस्थिति समेतलाई मध्यनजर गरेर प्रदर्शन गर्नेगरि छलफल गरिरहेको खड्काको भनाई छ ।

चलचित्रको पहिलो शो भने राजधानी टोकियोमा मार्च १२ तारिख आइतबार मेगुरो पर्सिमोन हल हुने भएको छ ।
जापानमा प्रदर्शन तय भइसकेका बाहेकका शहरमा चलचित्र प्रदर्शन गर्न ईच्छुक व्यक्ति, समुह वा संस्थाहरुले सम्पर्क गर्न सक्ने उमेश खड्काले बताउनुभयो ।

चलचित्र आमा सरस्वती मुभिज प्रालिको प्रस्तुतीमा दिपक दिपाले निर्माण गरेका हुन् । हेमराज विसीको निर्देशन रहेको चलचित्रमा दीपक, दीपासँगै केदार घिमिरे, बेनिशा हमाल, निर्मल शर्मा, नीर शाह, मलिना जोशी, राज आचार्य लगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्मातामा केदारप्रसाद घिमिरे र निर्मल शर्मा हुन् ।

३ सिक्वलसम्म दिपाश्री निरौलाको निर्देशनमा बनेको फिल्म सिक्वल ४ मा भने हेमराज विसीको निर्देशनमा बनेको हो ।