शुक्रबार, बैशाख ०७, २०८१

जापानमा आज सेईजिन सिकी(成人式) अर्थात् ‘युवा दिवस’ के हो ?

#गृष्मा पौड्याल
-आज जापानमा 成人式 ‘सेईजिन सिकी’अर्थात ‘युवा दिवस’ हो।
कानुनीरूपबाट रक्सि, चुरोट पिउन मिल्ने दिनको शुरूआत। एक्लै विदेश यात्रा गर्न सकिने र अझ भनौं ड्राईभिन्ग्ग लाईसेन्स र कानूनी रूपमा विवाह समेत गर्न सकिने दिनको शुरूआत।
एक्लै घर भाडामा लिन र दिन मिल्ने उमेरको शुरूआत हो, सेईजिन सिकी, अर्थात् सबै प्रकारका कानूनी अधिकारहरू प्राप्त गर्न सकिने दिनको पहिलो दिनलाई जापानमा ‘युवा दिवस’यानेकि सेईजिन सिकी, अथवा सेईजिन नो हि 成人の日 भनिन्छ।

यो दिवस हरेक जनवरी महिनाको दोस्रो सोमवार प्राय ८ देखि ११ तारिख भित्रमा पर्दछ।यदि ८ तारिख आइतबार परे त्यसको भोलिपल्ट सोमबार मिलाएर राष्ट्रिय छुट्टी समेत दिईन्छ।
यो वर्ष जनवरी महिनाको ९ तारिख अर्थात् आज सोमबार परेको छ।
成人式प्राय जापानमा जन्मेर, बीस वर्ष उमेर समुहका केटा केटीहरू आ-आफ्नो विश्वास अनुसार मन्दिर (お寺) (ओतेरा) या शिन्तोको श्राईन (神社⛩ जिन्जा) र परिवारको विश्वास अनुसार चर्चमा या अन्य कुनै धार्मिक विश्वासका ठाउँमा समेत गई सम्बन्धित निकायबाट आशीर्वाद प्राप्त गरी मनाउने गरिन्छ।
आफ्ना साथीभाइ, आमाबुवा हजुरआमा हजुरबुवा र नातेदारहरू सहभागि भै नजिकको वडा कार्यालयले तोकेको ठाउँमा जम्मा भई देसकै प्रधानमन्त्री या कुनै उच्च पदस्थ अधिकारीबाट आशिर्वाद ग्रहण गरी रमाइलोसँग मनाउने चलन छ।
यसैलाई जापानमा 成人式अर्थात ‘युवा दिवश’ भनिन्छ।

१८ वर्षसम्म पासपोर्टको हद म्याद पनि ५ वर्षको हुन्छ। केटाकेटीको अनुहारको स्वरुप बदलिरहने हुँदा १८ वर्षसम्म पासपोर्ट ५, ५ वर्षमा नवीकरण गर्नु अनिवार्य हुन्छ भने २० वर्ष उमेर पुगेपछि १० वर्षसम्मको म्याद पनि छान्न पाईन्छ।
अरू समयमा प्राय फिक्का रंगका लुगा र पहिरन लगाउन रुचाउने जापानी महिलाहरू पनि यो दिनमा भने रंगिचंगी उज्यालो रंगका ‘किमोनो’ र पुरूषहरू पनि कुनै ख़ास अवसरका लागि बनाईएका लामा आकारको कोट, टाई र सुटमा वा राष्ट्रिय पोसाकमा सजिएर धिपीक्कै बलेका हुन्छन्।
यही दिन बेलुका आफ्ना साथी संगीहरू मिलेर रेस्टुरेन्टहरूमा जम्मा भई खाने पिउने र रमाईलोसँग बिताउने गर्दछन्।

‘किमोनो’महिलाहरूले लगाउने जापानको राष्ट्रिय पोसाक हो। यो एक प्रकारको सिल्क बनाउने किराको धागोबाट बनाईएको हुन्छ, र अत्यन्त महँगो पनि हुन्छ। ‘किमोनो’ सस्तोमा ३ लाखदेखि महँगोमा बीस तीस लाख सम्म पर्ने हुन्छ।
पुरुष बर्गले लगाउने राष्ट्रीय पोसाक पनि खास आकारको लामो हुन्छ (अगाडिबाट हेर्दा साधारण देखिने तर पछाडीबाट भने निक्कै लामो) आकारको हुन्छ।
तपाईंहरूलाई बुझ्न सजिलोको लागि तल तस्वीरमा पनि राखिएको छ।

यो दिन जापानका बीस वर्ष उमेर समुहका केटाकेटीहरू स्पेशल अवसरहरूको लागि बनेका लुगाहरू लगाएर स्थानिय सरकारले तोकेको कुनै हल या सार्वजनिक ठाउँमा भेला भई सम्बन्धित निकायबाट आशिर्वाद प्राप्त गरीसकेपछि आ-आफ्नो परिवारसंग भेटि खाई पिई आशिर्वाद प्राप्त गर्ने र रमाइलोसँग मनाउने गर्दछन्।

‘किमोनो’ र ‘यूकाता’ मा फरक हुन्छ। यूकाता पहिला पहिलाका महिलाहरूले घरमा बस्दा प्रयोग गर्ने प्राय सुतीबाट बनेको, हाम्रो आमा हजुरआमाले लगाउने ‘फरिया’ या धोती जस्तै हो भने ‘किमोनो’ एक किसिमको महँगो सिल्क धागोबाट बनाईएको हुन्छ।

जापानमा यो ‘युवा दिवस’ द्घितिय विश्व युद्धपछि सन् १९४६ मा (स्योउवा २१ वर्षबाट) मनाउन थालिएको हो।
सन् १९४६ मा जापान द्वितिय विश्व युद्धबाट पराजित भई देशमा चरम निराशा छाएको बेला युवाहरूलाई हौशला दिनकोलागि जापानको साईतामा प्रान्तको वारावी भन्ने शहरमा बस्ने एक व्यक्तिले ‘वाराविनो सेन्देन‘ नामको ‘युवा महोत्सव’आयोजना गरी युवाहरूलाई भोलिको दिन राम्रो हुनेछ भनि हौसला दिएर रमाईलो गरी यो दिवस मनाएको भनाई छ !
त्यही वेलादेखि यो चलन निरन्तर रुपमा पर्व नै बनेर हालसम्म पनि ‘युवा दिवस’ यानेकि ‘सेईजिन सिकी’ को नामले मनाउन थालिएको हो र आज जापान भरी त्यसैको राष्ट्रिय विदा छ।

टोक्यो जापान
२०२३-१-९ तारिख