शुक्रबार, बैशाख ०७, २०८१

कविता संग्रह “नाङ्गा पैताला “को लोकार्पण

गैडाकोट । त्रिवेणी साहित्य प्रतिष्ठान नवलपरासी (बसुपु)द्वारा आयोजित एक समारोहमा कवि हरिहर निरौला द्वारा रचित तथा त्रिवेणी साहित्य प्रतिष्ठान द्वारा प्रकाशित कविता संग्रह “नाङ्गा पैताला “को लोकार्पण वरिष्ट भाषाविद प्रा. डा . चुडामणी वन्धु को प्रमुख आतिथ्यमा सुसम्पन्न भयो ।

गैडाकोट वडा न्. ४ स्थित किसान ग्यालेरी(सहज सामुदायीक अस्पताल )को सभा हलमा आयोजना गरिएको उक्त कार्यक्रम मा विशिष्ट अतिथि लकाश पौडेलले शुभकामना मन्तव्य प्रकट गर्दै भाषा साहित्य कला र संगीतका क्षेत्रमा त्रिवेणी साहित्य प्रतिष्ठान को योगदानको चर्चा गर्नु भयो । कृति वारे समीक्षा प्रस्तुत गर्दै प्राध्यापक श्री कपिल अज्ञात ले कृति “नाङ्गा पैताला “नेपाली जनजीवनको चित्रणमा अव्वल रहेको चर्चा गर्दै वर्तमानका विसंगति ,राष्ट्र प्रेम ,काव्यीक सौदर्य ,कला र विशिष्ट भावको संग्रह पठनीय हुन पुगेको भावना व्यक्त गर्नु भयो ।

काव्य वारे लिखित मन्तव्य प्रकट गर्दै समालोचक पूर्ण प्रसाद अधिकारी ले कृतिले जीवन जगतको चित्र कोर्दै राष्ट्र प्रेमको संदेश दिएको भाव प्रकट गर्नु भयो । वरिष्ट निबन्धकार सृजन लम्साल ,कवि मणि काफ्ले ,कवि जगन्नाथ पण्डित ,रामहारी शर्मा “शराह ” ,टंक राज ढकाल “तितेपाती” शोभा खनाल कोइराला ,शिवराज शर्मा लामिछाने ,कवि गोविन्द राज विनोदी आदि कवि लेखक र समालोचक हरुले शुभकामनाका साथै कविता प्रस्तुत गर्नु भयो ।

कृतिका रचनाकार कवि हरिहर निरौला ले आफ्नो सेवा निवृत जीवन साहित्य सेवामा समर्पित रहने विचार प्रस्तुत गर्दै कविता रचनागर्भ बारे प्रकाश पारनू भएको थियो । त्रिवेणी साहित्य प्रतिष्ठानका कार्यवाहक अध्यक्ष इन्द्र राज पौडेलको सभापतित्वमा रहेको कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव तथा कलाकार भीम प्रसाद शर्माले स्वागत मन्तव्य प्रकट गर्नु भयो र कार्यक्रम को सञ्चालन सह-सचिव मूना धनन्जयले गर्नु भएको थियो ।