शुक्रबार, बैशाख ०७, २०८१

धुर्मुस–सुन्तलीलाई कोट र साडी उपहार दिंदै ओलीले भने– यस्तो अझै गर्नुहोला

काठमाडौं,१२ वैशाख । मंगलवार एमाले अध्यक्ष केपी ओलीको वालकोटस्थित निवासमा बढी नै भिडभाड थियो । पार्टी स्थायी समितिको बैठक भएकाले भिड हुनु स्वाभाविकै थियो । बैठक सकेर नेताहरुबीच अर्काे अनौपचारिक छलफल चल्दै थियो, त्यसैबेला पुगे कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ ।

धुर्मुस सुन्तली ओली निवास बालकोट पुग्दा एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदीप ज्ञवाली पनि ओलीसँगै थिए । त्यही बेला नमस्कार गर्दै बैठककोठामा धुर्मुस र सुन्तली पसेपछि ओली जुरुक्क उठे र खादा लगाइदिए । धुर्मस् सुन्तलीलाई वधाई दिएपछि ओली भान्छा कोठातिर लागे र ढोकामा पुगेर भने– ‘घरमा को हुनुहुन्छ ? आज हाम्रो घरमा यस्ता पाहुना आउनुभएको छ केही खुवाउनु पर्यो नि !’

ओली भान्छाबाट फेरि बैठक कक्षतिरै आए र भने– ‘तपाईंहरुका योजना साना थिए तर, राज्यले उठाउनु पर्ने योजना थिए । तपाईंहरुले गर्नु भयो ।’ ओलीको गृहजिल्ला झापाकै धुर्मस यसअघि पनि बेला बेला ओली निवासमा गइरहने कलाकार हुन् । तर, मंगलवार धुर्मस सुन्तली पुग्दा भने उनीहरुले वस्ती निर्माणमा गरेको योगदानका कारण बेग्लै माहौल देखिन्थ्यो ।

ओलीले धुर्मुस सुन्तलीले बनाएका बस्तीवारे मेलैसँग सोधे । जवाफमा धुर्मसले आफूले ओलीबाटै प्रभावित भएर कलाकारिता र समाजसेवा अंगालेको वताए । ‘मेरो कलाकारिता तपाईंकै क्यारिकेचर गरेर फस्टायो, समाजमा काम नै गर्नु पर्छ भन्ने पनि तपाईंबाटै सिकेको हुँ’ उनले भने ।
त्यतिबेलासम्म ओलीले मगाएको खाजा आइसकेको थियो । सबै सँगै बसेर खाजा खाए । खाजा खाँदै गर्दा धुर्मुसले गर्ने ओलीको क्यारीकेचरबारे कुरा उठ्यो । एमाले महासचिव पोखरेलले ओलीको क्यारिकेचर दुरुस्तै कसरी पारेको भनी धुर्मुससँग सोधे । धुर्मसले ओलीको बोली, ब्यवहारबाट आफू पहिलेदेखि नै प्रभावित भएकाले सबै आफूमा उतार्न सजिलो भएको वताए । धुर्मुले ओलीको क्यारिकेचर गर्दा धेरैजसो लगाउने गरेको हाफ ज्याकेट र सर्टबारे ओलीले जिज्ञासा राखे । ‘मैले एकपटक देउसी भैलोमा जाँदा लगाएको लुगा तपाईंले क्यारिकेचरमा सधैं लगाएको देख्छु । कसरी मिलाउनु भयो त्यस्तो ?’ ओलीले सोधे । जवाफमा धुर्मुसले भने– ‘त्यति पनि ध्यान दिइनँ भने त म कसरी कलाकार ?’

अनि सुरु गरे ओलीले धुर्मस सुन्तलीका कामको प्रसंसा ।  ‘बोलेर हसाउँछ भन्ने मात्र थियो, काम गरेर भावुक बनाउनु भयो’ यसो भन्दा ओली पनि अलि भावुक नै देखिए । धुर्मुसले त्यसैबेला फ्याट्ट भने, ‘यो मैले तपाईंबाटै प्रभावित भएर गरेको हुँ ।’ खाजा खाँदै गर्दा धुर्मुसले आफ्ना भावी योजना ओलीलाई सुनाए र सहयोग गर्न आग्रह गरे । ओलीले पनि आफूले सक्दो सहयोग गर्ने बताए ।

एमालेका नेताहरु त्यहीँ थिए । तर, सबैलाई छोडेर ओली धुर्मुस सुन्तलीको हात समाउँदै त्यहाँबाट बाहिर निस्के र उनीहरुलाई घरको छततिर लिएर गए । छतमा उनीहरुबीच धेरै लामो कुराकानी भयो । धुर्मुसका अनुसार ओली निवासको छतमा धुर्मुसले गरेको पुनर्निर्माणको काम र आधुनिक वस्तीवारे निकै लामो कुराकानी भएको थियो । ‘हिमाल देखि तराईसम्मका वस्ती कसरी बनाउने ? वस्तीको शैली कसरी परिवर्तन गर्ने भन्ने विषयमा उहाँले धेरै जिज्ञासा राख्नु भयो’ धुर्मुसले ओलीसँग भएको संवाद सुनाए, ‘मिलेर देश बनाउँ, यस्ता अभियानलाई देशब्यापी बनाउँ भन्नु भएको छ ।’

विदा हुने बेलामा ओली एकैछिन् भित्र पसे र फेरि बाहिर निस्के । बाहिर निस्कंदा उनका हातमा नयाँ कोट, पाइन्ट र साडी थियो । उनलले धुर्मुसलाई कोट लगाइदिए र सुन्तलीका हातमा साडी राखिदिए । ओलीले धुर्मुस सुन्तलीलाई एकै अंगालोमा राख्दै भने– ‘यस्तै असल कामका ब्यस्त रहुनुहोला ।’ त्यसबेला धुर्मुसका आँखामा टिलपिल टिलपिल आँशु थिए ।