शुक्रबार, बैशाख ०७, २०८१

एभरेष्ट स्कुल जापानले भव्य मनायो दशौं साँस्कृतिक दिवस

टोकियो । जापानको एभरेष्ट इन्टरनेशनल स्कुलको दशौं साँस्कृतिक दिवस विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाएको छ ।
नोभेम्बर २५ तारिख सोमवार टोकियोमा एभरेष्ट इन्टरनेशनल स्कुलको दशौं वार्षिक उत्सव विभिन्न देशको कल्चर नृत्य र सांस्कृतिक कार्यक्रम गरी सम्पन्न गरेको हो ।

जापानका लागि नेपाली राजदूत डाक्टर दुर्गाबहादुर सुवेदीको प्रमुख आतिथ्यतामा नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने एभरेष्ट स्कुलको वार्षिक कल्चर डे अर्थात् सांस्कृतिक कार्यक्रम नेपालको संस्कार र विभिन्न जातजातीको नृत्य र गीत सहित जापानको कल्चरलाई समेत समेटेको थियो ।
कार्यक्रमलाई सम्बोधान गर्दै जापानस्थित नेपाली राजदूतावासका राजदूत डा. सुवेदीले प्रवास जापानमा अवस्थित यस विद्यालयले नेपाली भाषा र संस्कृतिको जगेर्ना गर्न उल्लेखनीय भूमिका खेलेकोमा दूतावास र नेपाल सरकारको तर्फबाट खुलेर प्रशंसा गर्नु भयो । राजदूत सुवेदीले जापानमा नेपाली बालबालिकाहरुको शैक्षिक बिकासमा स्कुलले खेलेको भूमिकाको सह्राना गर्दै थप स्तरोन्नतिका लागि नेपाली राजदूतावासको सँधै सहकार्य रहने बिचार ब्यक्त गर्नुभयो ।

त्यसैगरि गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष शिबप्रसाद पौडेलले जापानको नेपाली नयाँ पुस्तामा सांस्कृतिक मूल्यमान्यता नेपाली जापानी संस्कार आदनप्रदान गर्दै अध्ययन–अध्यापन सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
समारोहमा सुगिनामी वार्डका गभर्नर वातानाबे फुजियो, टोकियो मेट्रोपोलिटन गभर्मेन्ट अन्तर्राष्ट्रिय समुदाय, नागरिक सुरक्षा प्रबर्द्धन विभागका निर्देशक हिरोकाता मियुरा, शिक्षक-अभिभावक संघका सदस्य सञ्जिव पोखरेल, एनआरएनए आइसीसी उप-महासचिव ओम गुरुङ, एनआरएनए जापानका अध्यक्ष शिबप्रसाद पौडेल, नेपाल पत्रकार महासंघ जापानका अध्यक्ष शान्त पहरी, अन्तराष्ट्रिय नेपाली साहित्य समाज, जापानका अध्यक्ष रविन शर्मा लगाएतको उपस्थिति थियो ।
नेपाल सरकार, क्याम्ब्रिज विश्वविद्यालय र जापानी सरकारबाट मान्यता प्राप्त पहिलो विद्यालयको रुपमा रहेको स्कुलको समारोहमा विद्यालयका प्रिन्सिपल बिष्णुप्रसाद भट्टको स्वागत मन्तब्य रहेको थियो ।

एभरेष्ट इन्टरनेशनल स्कुल जापानका सञ्चालक समितिका अध्यक्ष भवन भट्टले भर्च्युअल माध्यमबाट समापन मन्तब्य राख्दै कार्यक्रम सफल पार्न सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।