बुधबार, बैशाख १९, २०८१

केही जिल्लामा दुई चरणमा निर्वाचन : कमल थापा

विराटनगर,९ वैशाख । राप्रपा अध्यक्ष तथा उपप्रधान एवं स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय तह संख्या थप–घट हुन सक्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै थापाले जनसंख्याका आधारमा स्थानीय तह संख्या कायम गर्नुपर्ने माग मधेसी मोर्चाले राखेकाले केही जिल्लामा स्थानीय तह संख्या थपघट हुन सक्ने बताए ।

‘मोर्चाले निर्वाचनमा सहभागी हुनका लागि स्थानीय तह संख्यामा हेरफेरलगायतको सर्त राखेको छ’, थापाले भने, ‘मोर्चा निर्वाचनमा आउँदा अहिले कायम भएका स्थानीय तहमा हेरफेर हुनसक्छ ।’

थापाले सरकार र मधेसी मोर्चा सहमति नजिकै पुगेकाले स्थानीय तह निर्वाचनमा मधेसी मोर्चा सहभागी हुने दाबीसमेत गरे । सरकार मोर्चा सहमति नजिक पुगिसकेकाले केही दिनभित्रै ठोस सहमति हुने थापाको भनाइ छ ।

उपप्रधानमन्त्री थापाले संसदमा दर्ता भएको विधेयकलाई समान्य परिमार्जन गरी अघि बढाउने विषयमा मोर्चासंग सहमति बन्दै गएको जानकारी दिए । नागरिकता, भाषा, राष्ट्रियसभाको गठनविधि तथा परिमार्जनसहितको संविधान संशोधनका विषयमा मोर्चासंग छलफल भइरहेको मन्त्री थापाले बताए ।

मधेसी मोर्चा निर्वाचनमा सहभागी भए केही जिल्लामा दुई चरणमा निर्वाचन हुने सम्भावना रहेको समेत उनले बताए ।