बिहिबार, बैशाख १३, २०८१

अनेसास जापानको आयोजनामा नागोयामा हुने साहित्य उत्सवको तयारी पूरा

जापान । अनेसास जापानको आयोजनामा जापानको नागोया सहरमा हुन लागेको नागोया साहित्य उत्सव २०२२ को सम्पूर्ण तयारी पूरा भएको छ।

जापानका लागि नेपाली राजदूत महामहिम डा दुर्गा बहादुर सुवेदीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा पुस्तक विमोचन, खुला रचना वाचन, बहस तथा गजल मेहफिल जस्ता अलग अलग सेसनहरू राखेर कार्यक्रम सम्पन्न गरिने संस्थाका पूर्वअध्यक्ष तथा कार्यक्रमका संयोजक विष्णु प्रसाद घिमिरेले जानकारी दिनुभएको छ।

कार्यक्रममा सुविन न्यौपानेको कविता संग्रह कमरेडको जनै र कथाकार म्यामराज राईको लघुकथा संग्रह हाम्रो बाटोको जापान विमोचन हुनेछ। त्यसैगरी जापानमा रहेर गजलमा कलम चलाइरहनुभएका आठ जना गजलकारहरूको (दिनेशराज ज्ञवाली , गिरिजा गैह्रे, सुमित गिरी, आनन्द अधिकारी, अमरदेव बास्तोला, मीनराज बास्तोला, गंगा गगन, विकास लम्साल) गजल वाचन कार्यक्रमको मुख्य आकर्षण रहेको छ। जापानमै पहिलोपटक साहित्यिक बहस अन्तर्गत अनेसास केन्द्रीय कमिटिका निवर्तमान अध्यक्ष प्रकाश पौडेल माइला, नेपाली भाषाका अध्येता हारुहितो नोजू र महिला अभियन्ता सविता पन्थी वक्ता रहने गरी ‘प्रवासमा नेपाली भाषा तथा साहित्य’ विषयमा वहस हुनेछ। कार्यक्रममा खुला कविता वाचन सेसन अन्तर्गत नागोया केन्द्रित सर्जकहरूका रचना वाचन हुनेछन् ।
कार्यक्रमका अलग अलग सेसनमा अलग अलग सहजकर्ताहरू रहने गरी संस्थाका महासचिव शरद पोख्रेल, सचिव अनिल कुमार निर्दोष र सर्जक श्याम शीतलले सहजीकरण गर्नुहुनेछ।

कार्यक्रम नोबेम्बर २६ तारिख दिउसो १२ः३० बाट आइची पिस मेमोरियल हल नागोयामा सम्पन्न भई बेलुका ५ बजे समापन हुनेछ।कार्यक्रममा सहभागी हुन टोकियो देखि नागोया सम्म पुग्नका लागि संस्थाले सशुल्क यातायातको प्रबन्ध गरेको छ। कार्यक्रममा सम्पूर्ण साहित्य प्रेमीहरूलाई निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन संस्थाका अध्यक्ष रविन शर्माले अपिल गर्नुभएको छ।