शनिबार, बैशाख ०८, २०८१

चाडपर्वका बहानामा फुटपाथ व्यवसायप्रति लचिलो बन्न सकिँदैनः मेयर शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाले चाडपर्वको बहानामा फुटपाथ व्यवसायप्रति लचिलो हुन नसक्ने बताएको छ ।

बिहीबार विज्ञप्ति जारी गर्दै महानगरले फुटपाथ व्यवसायीप्रति महानगरले अवलम्बन गर्दै आएको नीतिमा दृढ रहेको बताएको हो । सडकमा पैदलयात्रीको पहिलो अधिकार रहने अधिकारलाई स्थापित गराउन महानगरपालिकाले आफ्ना नीति तथा कार्यक्रम तर्जुमा गरेको र उक्त नीतिमा प्रतिवद्ध रहेको महानगरले बताएको छ।

‘पैदल यात्रीका लागि पर्वका समयमा फुटपाथ अझ बढी आवश्यक पर्छ । अन्य समयभन्दा योबेला जेष्ठ नागरिक, बालबालिका, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिलाहरु किनमेलका घर वाहिर निस्कने समय हो । उहाँहरुको पैदल यात्रा सुरक्षा महानगरपालिकाको जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ।

सडक व्यापारले पैदल मार्गमा हिँड्ने यात्रुलाई बाधा गरेको कुरा सर्वसाधारणले महसुस गरेको विषयमा महानगर अवगत रहेको बताएको छ । ‘ यो कार्यक्रम पर्व विशेष वा अन्य कारण विशेष स्थगित हुने वा लचिलो नहुने कुरा समेत स्पष्ट पार्न चाहन्छौँ,’ विज्ञप्तिमा भनिएको छ।