शुक्रबार, मङि्सर १६, २०७९

बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुनेवाला छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराई र आफू एक अर्काको पुरक भएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले भट्टराईसँग समाजवादको गोरेटो नयाँ पार्नको लागि सहकार्य गरेको बताएका हुन् ।

उनले माओवादीहरू अलग हुँदा जनयुद्धको उपलब्धि नै खतरामा परेको बताए । प्रचण्डले बाबुराम भट्टराईसँगको सहकार्य धेरै लामो हुने बताए । उनले आफूहरुको सहकार्य चुनावसम्मका लागि मात्र नभएको बताए ।

उनले भने, ‘यो निर्णय चुनावका लागि मात्र गरिएको निर्णय होइन, त्यो भन्दा धेरै माथि उठ्न बल गरिएको छ, यो देशलाई समृद्धिको विकासको नयाँ मोडल हामीले दिनुपर्छ । हामीले नै दिन सक्छौं ।’

अगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् । उनले संविधान घोषणापछिको आफू र बाबुरामले अलग अलग प्रयोग गरेको भएपनि सफल नभएपछि फेरि एकै ठाउँमा जुटेको बताए ।

उनले भने,‘गतसाल प्रतिनिधिसभा विघटनपछि संविधानमाथिको खतरा थियो। त्यसको प्रतिवाद गरेका थियौँ। अब संघ र प्रदेशको निर्वाचनमा जाँदैछौँ। निर्वाचन सफल हुनु नै ठूलो कुरा हो। निर्वाचन सफल हुँदा संविधान कार्यान्वयन हुन्छ । कुन पार्टीले कति सिट जित्छ त्यसले ठूलो अर्थ राख्दैन।’उनले १० बर्षको जनयुद्धले ठूलो उथलपुथल ल्याएको दाबी गरे।

उनले अब समाजवादको लागि नयाँ खालको जनयुद्ध आवश्यक ठानेको बताए । उनले भने, ‘समाजवादका लागि नयाँ खालको जनयुद्ध आवश्यक छ । पुरानो जनयुद्ध त सम्भव पनि छैन । समाजवादको २१ औं शताब्दीको नयाँ मोडेल हामीले पत्ता लगाउनुपर्नेछ ।’ उनले फेरि २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ खालको जनयुद्ध गर्ने संकल्प गरेपछि एकैठाउँमा केन्द्रित भएको उनको भनाइ थियो ।

%d bloggers like this: