शनिबार, बैशाख ०८, २०८१

सिके राउतले सप्तरी २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष

जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने उद्घोष गरेका छन् । मूलधारको राजनीतिमा आएर उम्मेदवारी घोषणा गरेका राउतको पुख्र्याैली घर यसै क्षेत्रमा पर्ने महादेवा गाउँपालिका वडा नं. २ मा छ ।

राउतले चुनाव लड्न लागेको यो त्यही क्षेत्र हो जहाँबाट गत चुनावमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव १० हजार मतान्तरले निर्वाचित भएका हुन् ।

२१ हजार ६२० मत ल्याएर यादव निर्वाचित हुँदा नेकपा माओवादी केन्द्रका उमेशकुमार यादवले ११ हजार ५८० मत ल्याए । स्वतन्त्र उम्मेदवार जयप्रकाश ठाकुरले ९ हजार ४५८ मत पाए ।

हुन त पछिल्लो समयमा यो क्षेत्रमा कसैले पनि दोहो¥याएर नजितेको इतिहास छ । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा तत्कालीन सद्भावना पार्टीबाट महेश यादव निर्वाचित भएका थिए । दोस्रो संविधानसभाको निर्वाचनमा महेशले जम्मा ४६ मत प्राप्त गरे । त्यतिबेला नेकपा माओवादी केन्द्रका उमेश यादव निर्वाचित भएका थिए । तर उनी २०७४ को निर्वाचनमा उपेन्द्र यादवसँग हारे ।

तत्कालीन सद्भावना पार्टीका अध्यक्ष गजेन्द्रनारायण सिंहले समेत यो क्षेत्रबाट जितलाई निरन्तरता दिन सकेनन् । २०४८ को आम निर्वाचनमा जितेका उनी २०५६ को निर्वाचनमा भने पराजित भए । त्यस बेला नेपाली कांग्रेसका रामकुमार चौधरी निर्वाचित भएका थिए ।

त्यसबेला उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) बीच चुनावी गठबन्धन थियो । नेपाली कांग्रेसले पनि उपेन्द्रलाई नै समर्थन गर्दै आफ्ना उम्मेदवार सकलदेव सुतिहारलाई पछाडि हटाएको थियो ।

४ मंसिरमा हुने निर्वाचनका लागि सत्तारुढ दलहरुले गठबन्धन गर्ने तयारी गरिरहेका छन् । तालमेल भएमा यो क्षेत्र उपेन्द्र यादवले नै पाउनेमा जसपाका नेताहरु ढुक्क छन् ।

गठबन्धन भएपछि उपेन्द्रले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ पाउनेछन् । यो क्षेत्रमा नेकपा एकीकृतको कमजोर स्थिति छ भने नेकपा माओवादी केन्द्र उसको तुलनामा थोरै मात्र मजबुत स्थितिमा देखिन्छ ।