शुक्रबार, बैशाख ०७, २०८१

सत्ता गठबन्धनको चुनावी तालमेल संविधान विपरीतः भीम रावल

काठमाडौं । नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले सत्ता गठबन्धनले आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा तालमेल गर्ने निर्णय गर्नु संविधानविपरित भएको टिप्पणी गरेका छन् ।

काठमाडौंमा शुक्रबार आयोजित साक्षात्कारमा रावलले निर्वाचनमा तालमेल समान सिद्धान्त, विचार र दर्शन भएकाहरुबीच हुने भन्दै अहिले कायम रहेको पाँच दलीय गठबन्धनबीच कुनैपनि कुरा नमिल्ने भन्दै गठबन्धन गरे संविधानविपरित हुने बताएका हुन् ।

उनले हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा पनि पाँच दलीय गठबन्धनले संविधानविपरित तालमेलको नाममा लोकप्रिय मत मागेको आरोप लगाए ।

उनले भने,‘हिजोमात्रै गठबन्धन सरकारले संघ र प्रदेशको निर्वाचनको मिति घोषणा गरेको छ। आगामी मंसिर ४ गते निर्वाचन हुने भनेर, यो त सरकारको कर्तव्य हो । सरकारले निर्वाचनको मिति घोषणा गरेर एकदमै ठूलो काम गरेको होईन । यो नियमित रुपमा सरकारले बहन गर्नुपर्ने दायित्व हो । आम निर्वाचन निश्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा सम्पन्न हुने वा नहुने कुराले लोकतान्त्रिक प्रक्रियालाई प्रभावित गर्दछ । हामीले कतिपय निर्वाचनमा धाँधली भएको घट्ना देखेका छौं । मतदाताले भयरहित वातावरणमा मत हाल्न नसकेको घट्ना पनि देखेका छौं ।’ उनले आम निर्वाचन सरकार र आयोगले स्वतन्त्र, निश्पक्ष र भयरहित वातवारणमा गराउनुपर्नेमा जोड दिए ।

उनले भने,‘यो नै एमालेको जोड हो । हाम्रो लोकतन्त्र बहुदलीय प्रणालीमा आधारित छ । यहाँ दलहरुले आपसमा प्रतिष्पर्धा गर्छन् । नेपालको संविधान दुई दुई पटक संविधानसभाको निर्वाचन गरेर, त्यो संविधानसभाबाट यो संविधान जारी गर्यौं । संविधानको धारा २६९ मा समान दर्शन, विचाराधारा र कार्यक्रम भएकाहरु एक ठाउँमा आउँछन् र दल बन्छ भन्ने कुरा छ, स्थानीय तहको निर्वाचनमा विपरित सिद्धान्त भएका दलहरुले तालमेलको नाममा लोकप्रिय मत मागे । यो नेपालको संविधानको विपरित छ । यो एक प्रकारको निर्दलीय अभ्यास हो । आउने निर्वाचनमा के गर्छन्, त्यो हेर्नुपर्छ । पाँच दलीय गठबन्धनले तालमेल गर्ने कुरा गरेको पाएका छौं ।’

रावलले अहिले काठमाडौंमा फोहोरको डंगुर लागेको उल्लेख गर्दै सरकारले भने यतातर्फ कुनै चासो नदेखाएको आरोप लगाए । उनले भने,‘अहिले काठमाडौंमा फोहोरको डंगुर लागेको छ, यो सरकारको राजनीतिको फोहोरको डंगुरको प्रतिकात्मक स्थिति हो जस्तो लाग्छ । ०४८ सालमा कांग्रेसले बहुमत ल्याएको थियो । ०५१ को मध्यावधि निर्वाचनमा काठमाडौं फोहोरको डंगुर भएको थियो । अहिले पनि चुनाव आउँदैछ । काठमाडौं फोहोरको डंगुरमा परिणत भएको छ । सरकारको काम भनेको जनताको यस्ता कुरातर्फ ध्यान दिनुपर्छ । तर, यो सरकारलाई कुनै लाज र घीन छैन् । सरकारले आफ्नो दायित्वको बोध नै गर्दैन् । पाँच दलीय गठबन्धनमा पनि एउटाले भन्छ–संघीयता चाहिँदैन् । अर्कोले संघीयता नभई हुँदैन भनेको छ । दलहरु त आ–आफ्नो सिद्धान्तमा हिँड्नुपर्छ । चुनावमा पनि आफ्नो नीति, कार्यक्रम र सिद्धान्त लिएर जाने हो नि, यदि कसैले बहुमत ल्याएन भने समान धारणा भएकाहरुले मिलेर संयुक्त सरकार बनाउने हो ।’

उनले आफ्नो पार्टीको जबजले पनि समान विचार, दर्शन र कार्यक्रम भएकाहरुलाई एक ठाउँमा ल्याउनुपर्छ भन्ने मान्यता राखेको स्मरण गराए । उनले थपे,‘हाम्रो पार्टीको १०औं महाधिवेशनअघि ललितपुरमा भएको विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनमा पनि यही कुरा पालना गरेको छ । दलहरुले आफ्नो घोषणापत्र हेर्नुपर्छ । अवसरवादले देशलाई गन्तव्यमा पुर्याउँदैन् । अहिलेको गठबन्धनको एउटा दलले भन्छ–लोकतान्त्रिक समाज जिन्दावाद, अर्कोले भन्छ–माओवाद जिन्दावाद । नारा के हुन्छ त ? की नेपाँग्रेस भन्ने नारा लाग्छ ?’