बुधबार, साउन २५, २०७९

नेपाल सधैं एक चीन नीतिको समर्थनमाः परराष्ट्र मन्त्रालय

काठमाडौँ । नेपालले चीन ताइवानबीच उत्पन्न परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपालले सधैं एक चीन नीतिको समर्थन गरेको बताइन् ।

प्रवक्ता लम्सालले अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालीरहेको टिप्पणी गरिन् । उनले नेपाल सदैव ‘एक चीन नीति’को समर्थनमा रहेको पनि स्मरण गराइन् । अमेरिकी सभामुख पेलोसीको भ्रमणलाई चीनले आफ्नो मुलुकको सार्वभौमसत्ता र स्वाधिनतामाथिको आक्रमण भनेको छ ।

प्रवक्ता लम्सालले एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तर्राष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको उल्लेख गरिन् । उनले भनिन्, ‘नेपालले यस घटनालाई नजिकबाट नियालिरहेको छ । नेपालले सदैव एक चीन नीति समर्थन गर्दै आएको छ । दुवै मुलुकले एकअर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएका छन् । एक शान्तिप्रिय राष्ट्रको रुपमा नेपाल सदैव अन्तराष्ट्रिय शान्ति र स्थायित्वको पक्षमा रहेको कुरा जानकारी गराउछौं ।’

परराष्ट्र मन्त्रालयले नेपाल–चीन दुवै मुलुकले सदैव एक अर्काको सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधिनताको सम्मान गर्दै आएको जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

%d bloggers like this: