बिहिबार, बैशाख ०६, २०८१

स्थानीय चुनावको टिकट दिने वारे नेपाली कांग्रेसभित्र विवाद सुरु

काठमाडौं,१४ चैत । स्थानीय चुनावको तयारीमा होमिएको नेपाली कांग्रेसमा टिकट कसले दिने भन्ने बहस सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले आ-आफ्नो मत राखिरहेका छन् । तर, बहसमा पार्टी संस्थापन पक्ष (शेरबहादुर देउवा), रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहको धारणा प्रतिबिम्बित हुने गरेको छ । ७४४ स्थानीय तह बनिसकेको छ । तर, त्यसअनुसार पार्टीको संरचना बनिसकेको छैन ।

यसका साथै कांग्रेसको विधानमा पनि समस्या देखिएको एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसको विधानले क्षेत्र र जिल्ला दुबैलाई नगरको टिकट दिने अधिकार दिएको छ । जिल्लामा केन्द्रमा जस्तै पदाधिकारीहरु चयन नहुनुले पनि अर्को समस्या देखिएको छ । अब पछि विधान संशोधन गर्ने गरी नयाँ निर्णय गर्नु पर्ने अवस्था आएको छ ।

बैठकमा बोल्ने सभापति शेरबहादुर देउवा पक्षले अब केन्द्रले नै स्थानीय तहको टिकट दिनु पर्ने मत राखेको छ । खासगरी उनीहरुको चासो गाउँपालिका भन्दा पनि नगर, उपमहानगर र महानगरमा देखिएको थियो । रामचन्द्र पौडेल समूहले भने मौजुदा समितिहरुलाई नै यो अधिकार दिनु पर्ने मत राखेका छन् । एक नेताका अनुसार उम्मेदवारहरुको नाम सिफारिस कसले गर्छ भन्दा पनि निर्णय कसले गर्ने भन्नेमा फरक मत देखिएको छ ।

बैठकमा नेता कृष्ण सिटौलाले भने क्षेत्र र जिल्लामा नयाँ संयन्त्र गठनको प्रस्ताव राखेका छन् ।