रसुवा । नेकपा (एमाले) रसुवाले पाँचवटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरु टुंगो लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले रसुवाले शुक्रबार उम्मेदवार टुंगो लगाएको छ ।
उत्तरगया गाउँपालिका अध्यक्षमा माधव अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ ।
यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पु तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा रहेको छ ।
नौकुण्ड गाउँपालिकाको अध्यक्षमा उम्मेदवार सिर्जना लामाले विकास र समृद्धिको सूर्य कहिल्यै नअस्ताओस् भन्ने जनताको चाहना चाहना अनुसार उम्मेदवारी दिएको बताएकी छन् ।
उनले समाजिक सञ्जाल फेसबुमार्फत भोट दिन अपिल गर्दै नौकुण्ड सँग आफ्नो जीवन र सपना जोडिएको बताएकी छन् ।
उनले भनेकी छन्- ‘यो ठाउँको भौतिक विकास र यहाँका जनताको समृद्ध जीवन मेरो एक मात्र अभिष्ट हो । संसारका जुनै कुनामा पुगे पनि म नौकुण्डको सुन्दर भविष्यको सपना बोकेर हिँडिरहेको हुन्छु । नौकुण्ड मेरो नशा–नशामा हरसमय बगिरहेको हुन्छ– उत्साह र आशा बनेर ।’
हेर्नुस लामाको अपिल जस्ताको तस्तै:
नौकुण्डमा विकास र समृद्धिको सूर्य कहिल्यै नअस्ताओस् भन्ने तपाईंहरूको चाहना हो । र, हो मेरो पनि ।
नौकुण्डबासी सम्पूर्ण दिदी बहिनी तथा दाजुभाई ।
नयाँ संविधानलाई संस्थागत गर्ने गरी देश चुनावी माहौलमा होमिएको यस घडीमा आफ्नो गृहजिल्ला रसुवा अनी नौकुण्डका बुवा, आमा, दाजु, भाइ, दिदी, बहिनीलाई सम्बोधन गरिरहँदा मलाई गर्वबोध भइरहेको छ ।
नौकुण्ड सँग मेरो जीवन र सपना जोडिएको छ । यो ठाउँको भौतिक विकास र यहाँका जनताको समृद्ध जीवन मेरो एक मात्र अभिष्ट हो । संसारका जुनै कुनामा पुगे पनि म नौकुण्डको सुन्दर भविष्यको सपना बोकेर हिँडिरहेको हुन्छु । नौकुण्ड मेरो नशा–नशामा हरसमय बगिरहेको हुन्छ– उत्साह र आशा बनेर ।
नौकुण्ड अपार सम्भावना बोकेर बसेको सुन्दर भू–भाग हो । नौकुण्ड ले आफनो शिरमा पवित्र नौ वडा कुण्ड बनाएको यो पवित्र भुमि सँग अनन्त सम्भावना छ– पर्यटनको, कृषिको, सडकको अनि प्राकृतिक मार्धुयर्ताको ।
अलैंची, चिराइतो र लालिगुराँस हाम्रै सम्पत्ति हुन् । अनेक भाषा, धर्म, संस्कृति र जातजातिको सुन्दर र रमणीय फूलबारी यो देशकै सांस्कृतिक सम्पदा पनि हो ।
प्राकृतिक, सांस्कृतिक, सामाजिक रूपमा निकै विशिष्ट र धनी नौकुण्डलाई समृद्ध बनाउने उद्धेश्यका साथ तपाईंहरूको उम्मेदवार बन्न पाउँदा निकै गर्वको अनुभूति भएको छ । नौकुण्डलाई समृद्ध बनाउन र चिनाउन तपाईंहरूको साथले मात्रै सम्भव छ । त्यही सपना पुरा गर्न म एमालेको चुनाव चिन्ह सूर्य लिएर तपाँइहरूमाझ आएको छु ।
सूर्य चिन्हको उम्मेदवारका रुपमा प्रस्तुत भएपनि मेरो विश्वास छ– सबै राजनीतिक दलप्रति आस्था र सद्भाव राखी एकतावद्ध रुपमा अघि बढेर मात्रै सामाजिक र राजनीतिक रुपान्तरण गर्न सकिन्छ । नौकुण्डका हरेक घर र हरेक परिवारको खुसी नै मेरो पनि खुसी हो । हरेक घरका प्रत्येक सदस्यका अनुहारमा त्यो खुसी ल्याउने मेरो प्रयत्न हुनेछ ।
त्यसैले नौकुन्डको बिकास र समृद्दिको लागि मलाई ३प्रमुख पदमा जिताउन ३ सुर्य चिन्हमा मतदान गरि सहयोग गर्नुहुन हार्दिक अपिल व्यक्त गर्दछु।