शुक्रबार, चैत १६, २०८०

भद्रकुमारी घलेद्वारा लिखित १५१ वटा पुस्तक विमोचन

काठमाडौं । पूर्व राजनीतिज्ञ, वरिष्ठ समाजसेवी, साहित्यकार तथा कलाकार सुश्री भद्रकुमारी घलेद्वारा लिखित विविध विधाका १ सय ५१ वटा पुस्तकहरुको विमोचन गरिएको छ ।

शनिबार देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा एक कार्यक्रम आयोजना गरी प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीसहित १ सय ५१ जना महिलाद्वारा उक्त पुस्तक सामूहिक रुपमा विमोचन गरिएको हो । वरिष्ठ साहित्यकार घलेकै एकल लेखनमा तयार गरिएको पुस्तकहरुमा कोरोना भाइरस महामारीको भोगाई, नेपालको समसामयिक राजनीतिक असर, सामाजिक चेतना, जीवनका भोगाई लगायत विषयवस्तुहरु समेटिएका छन् ।

पुस्तकमा मान्छे कसरी मान्छे बन्ने, मान्छेले मान्छे र राष्ट्रको सेवा कसरी गर्ने, बुढाबुढीको गन्थन लगायत विषय समावेश गरिएको बताउँलै घलेले उक्त पुस्तकहरुमा निवन्ध, कविता र भजन सङ्ग्रहहरु रहेको बताएकी छिन् । पूर्व प्रधानन्यायाधीश कार्कीले नौ दशक उमेर पार गरिसेककी घलेले गरेको यस कार्य समाजका लागि उदाहरणीय रहेका बताईन् । उनले घलेको नेपालमा कुनै व्यक्तिसंग तुलना नै गर्न नसकिने बताउँदै यो उमेरमा यति धेरै संख्यामा एक साथ पुस्तकहरु कुनै पनि स्रष्टाले विमोचन नगरेको बताईन् । यस कार्यलाई गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउनन पहल गर्न सबैले सहयोग गर्नुपर्ने बताउँदै पूर्व प्रधानन्यायाधीश कार्कीले घलेलाई आफ्नो जिवनभर नै सधैं आँखा अघि नै देख्न मन पराउने बताएकी छिन् ।

उक्त पुस्तकहरुको डिजाइन तथा सम्पादन, संयोजन र छपाईं सम्बन्धी सम्पूर्ण कामहरु पत्रकार तथा साहित्यकार प्रकाश समीरले गरेका थिए । सेवा सदनको वार्षिक साधारण सभाका अवसर पारेर समिरलाई भद्रकुमारी घले सेवा सदनद्धारा १ लाख नगदसहित सम्मान गरिएको थियो ।

विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भोगाइसँग सम्बन्धित १ सय ४१ पुस्तकहरु प्रकाशित गरिसकेका घलेले यसअघि एउटै मञ्चबाट ४९ पुस्तकको एकैसाथ विमोचन गरेकी थिइन् । यसैगरी, शनिबार नै भद्रकुमारी घले सेवा सदनमा दीपक घलेको अध्यक्षतामा नयाँ नेतृत्व समेत चयन गरिएको छ ।

भद्रकुमारी घलेले गान्धी आश्रम वर्धामा ५ वर्षे विनिता, इन्दौर भारतमा ९ महिना जनरल नर्शको अध्ययन गरेकी छिन् भने भारतको गुजरातमा २००९ सालमा १६ महिना मिडवाइफ नर्स तालिम गरेकी छिन् । यस्तै उनले २०१३ सालमा जानकी पब्लिक हस्पिटलमाच सेवा गरेकी थिइन् भने २०१८ सालमा पञ्चायत कालदेखि नेपाल महिला संगठनमा जिल्ला सभापति भएर काम गरेकी थिइन् । यसैगरी, १०१९ देखि २०२२ सालमा अञ्चल सभापति बनेकी थिइन् ।

घले २०२३ सालदेखि २०२६ सालसम्म माननीय बनेकी थिइन् । २०३१ देखि २०३४ सालसम्म तीनपटक महिला संगठनमा रहेकी थिइन् । उनी २०३६ सालमा जनमत संग्रहपछि ५ वर्ष क्षेत्रीय प्रतिनिधि बन्दै २ वर्ष श्रम तथा समाज कल्याणमन्त्री बनेकी थिइन् । समाजसेवा, चित्रकारिता, साहित्यसिर्जनामा उनको रुची रहेको छ ।