मङ्गलबार, बैशाख ०४, २०८१

यसवर्षको बजेटमा ‘भ्यू–टावर’ र सभाहल निर्माणका कार्यक्रम नराखिने

काठमाडौं । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कामलाई निरन्तरता नदिने बताएकी हुन् ।

सञ्चालनको मापदण्ड नभएको र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू–टावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने उनको भनाइ छ । उनले भनिन्, “आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यू–टावर र सभाहल निर्माणको कार्यक्रमबाट अलग्गिन्छौँ बाहिरिन्छौँ । राज्यको असीमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन् । अर्को कुरा यसको सञ्चालनको मोडालिटीसमेत छैन ।”

उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताइन् । मन्त्रालयले एकीकृत बस्ती विकास कार्यक्रमलाई पनि निरन्तरता नदिने बताएको छ । एकीकृत बस्ती विकासका कार्यक्रमको प्रभावकारिताप्रति आफू गम्भीर रहेको बताउँदै मन्त्री झाँक्रीले यसलाई विस्थापन गरेर बस्ती विकास कार्यक्रम ल्याइने बताइन् ।

“आगामी बजेटमा एकीकृत बस्ती विकास कार्यक्रमबाट पछि हट्छौँ । पहाडी र हिमाली क्षेत्रमा यो कार्यक्रम प्रभावकारी देखिएन । तराई र काठमाडौँ उपत्यका क्षेत्रमा जग्गाको अभाव छ”, उलने भनिन् ।

मन्त्री झाँक्रीले आगामी वर्षको नीति तथा कार्यक्रम यसलाई बस्ती विकास तथा संयुक्त आवास कार्यक्रममा रुपान्तरण गर्न लागिएको बताइन् । उनले यसअघिको सरकारविना कुनै योजना उक्त कार्यक्रम ल्याएकाले मोरङको सन्थाल बस्तीमा टेण्डर गरेर शिलान्यास गर्दासमेत काम सुरू हुन नसकेको बताइन् ।