मङ्गलबार, असोज ०९, २०८०

कानुनको सबैले आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्याः सभामुख

लुम्बिनी । सभामुख अग्निप्रसाद सापकोटाले कानुनको सबैले आ–आफ्नो अनुकूलतामा व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको बताएका छन् ।

लुम्बिनी प्रदेशसभाद्वारा मंगलबार आयोजित ‘अन्तर प्रदेश व्यवस्थापिका’ सम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख सापकोटाले भने, “आ–आफ्नो अनुकूलता अनुसार कानुनको व्याख्या गर्ने प्रवृत्तिले समस्या सिर्जना हुने गरेको छ ।”

सभामुख सापकोटाले कानुन निर्माणमा व्यवस्थापिकाले ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापिका संसदअन्तर्गत सङ्घीय संसद् र प्रदेश व्यवस्थापिकाका संरचनामा कहाँ त्रुटि छन् भनेर गम्भीरतापूर्वक खोज्ने र त्यसको निष्कर्ष र समस्या समाधानका लागि आफू लागिपरेको बताए ।

उनले हाम्रो सार्वभौमसत्ता सम्पन्न संसद्लाई जीवन्त, जनमुखी र गरिमामय बनाउन ऐतिहासिक भूमिका खेल्न जरुरी रहेको पनि बताए । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित नीति निर्माण सल्लाहकार बिन्दा मगर, सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमलगायतले संसदीय अभियासलाई अझ बढी प्रभावकारी र जनमुखी बनाउनुपर्नेमा जोड दिए ।

आजदेखि सुरु भएको कार्यक्रममा सातै प्रदेशका सभामुख र उपसभामुखले सङ्घीयता कार्यान्वयनमा पाँचवर्षे अनुभव, चुनौती र सम्भावना विषयमा छलफल गर्नेछन् । उनीहरुले प्रदेशसभा सञ्चालनका अनुभव, सभालाई कसरी मर्यादित र जनमुखी बनाउन सकिन्छ भन्ने विषयमा अनुभव आदानप्रदान र अन्तरक्रिया गर्नेछन् ।