शनिबार, बैशाख ०८, २०८१

सत्ता गठबन्धनमा जुटेन सहमति, बैठक निष्कर्षविहीन

काठमाडौं । महानगर र उपमहानगरपालिकामा उम्मेदवारको टुंगो लगाउन बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहाना नौ बजेपछि सुरु भएको बैठक दिउँसो एक बजेसम्म चलेको थियो । तर बैठक आजै पुनः बस्ने गरि स्थगन भएको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रमुख स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

उनले भने,‘बालुवाटारमा जारी गठबन्धन बैठक आजै पुनः बस्ने गरि स्थगन भएको छ। बिहानदेखि केही मिडियामा महानगर/उपमहानगरको विभाजन सम्बन्धि भनेर आएको प्रस्ताव सही होइन। आज बेलुकीसम्म टुंगो लाउने गरि छलफल चलेको छ।’

खासगरी सत्ता गठबन्धनभित्रका दलहरुले आफ्नो हैसियत भन्दा बढी भाग खोज्दा सहमति जुट्न सकेको छैन । चैत मसान्तभित्र चुनावी तालमेल गरी उम्मेदवार चयन गर्ने बताएपनि सत्ता गठबन्धनभित्र चुनावी तालमेल पेचिलो बन्दै गएको छ । केन्द्रले चुनावी तालमेल गर्ने बताएपछि स्थानीय तहले एक्लाएक्लै उम्मेदवार सिफारिस गरिरहेका छन् ।