बिहिबार, बैशाख १३, २०८१

तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्यो,लु चल्ने विज्ञको चेतावनी

काठमाडौं । मुलुकका लुम्बिनि प्रदेशसहित तराईका केही जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावा चल्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दो क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तापक्रम वृद्धिसँगै आज, भोलि र पर्सि पश्चिम तराईका जिल्लामा तातो हावा चल्ने सम्भावना छ । ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रमलाई हिट वेभ अर्थात तातो हावा भनिन्छ । यसबेला मानिसलाई लू लाग्ने सम्भावना धेरै हुन्छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको अभिलेखअनुसार देशका सात ठाउँमा ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम पुगेको छ । हाल हाल भैरहवामा सबैभन्दा उच्च अधिकतम तापक्रम रहेको छ । त्यहाँको तापक्रम ४०।४ डिग्री सेल्सियस पुगेको छ । यस्तै, नेपालगञ्जको ३९ दशमलव ५, धनगढीको ३८ दशमलव ९, सिमराको ३८ दशमलव ६, जनकपुरको ३८ दशमलव ८ डिग्री सेल्सियस छ । गर्मीका कारण ती ठाउँहरुमा तातो हावा अर्थात लु लाग्ने सम्भावना भएकोले दिउँसोको समयमा बाहिर ननिस्कन महाशाखाले अनुरोध गरेको छ ।

काठमाण्डौको अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्री सेल्सियस पुगिसकेको छ । यसैगरी, आज देशको पहाडी भू भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।