बिहिबार, बैशाख ०६, २०८१

जनमोर्चाद्धारा स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको छ । ‘गणतन्त्र तथा राष्ट्रियताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ’, भन्ने मूल नारासहित आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी जनमोर्चाले स्थानीय तह निर्वाचन–२०७९ को घोषणापत्र सार्वजनिक गरेको हो ।

घोषणापत्र सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले स्थानीय तहलाई बलियो बनाउन आफ्नो शक्ति केन्द्रित हुने बताए । विकेन्द्रीकृत र सन्तुलित विकास नीतिसहित २८ बुँदे घोषणापत्र सार्वजनिक गर्दै उहाँले चुनावमा अन्य दलसँग एकता गरेर गए पनि आफ्नो चुनावी एजेन्डालाई आफ्ना उम्मेदवारले कार्यान्वयनमा लैजाने बताए ।

घोषणापत्रमा स्थानीय तहमा रहेको बेरुजु न्यूनीकरण गर्दै स्वशासनमा जोड दिने तथा भ्रष्टाचारको रोकथाम गर्ने उल्लेख गरिएको छ । गाउँको विकासका लागि छुट्टै ग्रामीण विकास मन्त्रालयको गठन गर्ने बताइएको छ । इन्धन आपूर्तिको वैकल्पिक व्यवस्था गर्ने, स्वदेशी उत्पादनलाई संरक्षण गरी विदेशी आयातमाथि नियन्त्रण गर्ने, दक्ष जनशक्ति निर्माण गरी बेरोजगारी अन्त्य गर्न योजना तर्जुमा गर्ने घोषणा पत्रमा उल्लेख छ ।