मायालु लामा, काठमाडौँ । गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएको प्राचीन धार्मिक तिर्थस्थलसँग सम्बन्धित वृत्तचित्र “सिङ्ल्हा” सार्वजनिक गरिएको छ ।पर्यटन प्रवर्द्धनका लागि नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा निर्माण गरिएको उक्त वृत्तचित्र सोमबार गोंगबुस्थीत स्काई पार्टी प्यालेसमा एक कार्यक्रमकाबिच समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले सार्वजनिक गर्नुभएको हो।
समितिका कार्यकारी निर्देशक दोङले वृत्तचित्र निर्माणले पर्यटकीय हिसाबले प्रचुर सम्भावना रहेको सिङ्ल्हाको प्रचारप्रसारमा सहयोग पुग्ने बताउँदै निमार्ण पक्षले विगतका वर्षहरुमा भन्दा यसपटक राम्रो वृत्तचित्र निमार्ण गरेका बताउनुभयो । गुम्बा बिकास समितिले बौद्ध दर्शन तथा गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नभएका ठाउँको खोज अनुसन्धान गरी रहेको बताउँदै उहाँले हरेक प्रदेशमा गुम्बा बनाउने आफुहरुको योजना रहेको पनि उहाँले बताउनुभयो । साथै, उपत्यकाको टोखा नगरपालिकामा १५ रोपनी जग्गामा केन्द्रीय गुम्बा बनाईरहेको बताउँदै प्रादेशिक गुम्बाहरु बनाउँदा धार्मिकस्थल संग जोडिएको ठाउँमा बनाउनुपर्ने बताउनुभयो ।पर्यटकीय सम्भावना बोकेका धादिङको खनियाबास गाउँपालिका वडा नं २ झार्लाङमा अवस्थित सिङ्ल्हा क्षेत्रमा रहेका चट्टानी डाडाँहरुका साथै अनुपम दृश्यहरु, झरना, स्थानीयका भेडा, च्याङ्ग्रा तथा गाई गोठहरु रहेको प्राकृतिक सुन्दरताले भरिएको एक दर्जन भन्दा बढी हिमालहरुलाई वृत्तचित्रमा समेटिएको छ । विशेष गरी त, उक्त वृतचित्रमा गुरू पद्मसंभवले सिद्धि प्राप्त र देशना गर्नुभएको तथा ङीमा होइस्हेरको मार्गबाट ङ्याब युल प्रस्थान गर्नु भएको प्राचीन धार्मिक तिर्थस्थलका विषयलाई बौद्धिक व्यक्तित्व, स्थानिय लामा, झाक्रीहरु , बौद्ध धर्म अध्यताहरुले प्रष्टिकरण गर्नुभएकोे पाईन्छ ।
यसैगरी, कार्यक्रममा बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा वृत्तचित्र निर्माण गर्न अहम भुमिका प्रदान गर्नुहुने सम्पूर्ण टिमलाई सम्मान गरिएको थियो । लाप्साङकार्पो म्युजिक सेन्टरका संचालक तथा उक्त बृतचित्रका निर्देशक रोशन फ्युवा तामाङले पहिलादेखि नै सिङ्ल्हाको बारेमा आफुले अध्ययनका साथै प्रचारप्रसारका लागि आफुले सकेको प्रयास गरिरहेको बताउँदै गीत, संगीतका साथै चलचिल, बृतचित्र मार्फत त्यहाँको महत्वको बारेमा प्रस्तुत गर्न पाउँदा आफु एकदमै खुशी भएको बताउनुभयो । सिङ्ल्हा अत्यन्तै रमाईले ठाउँ भएकाले आगामी दिनमा आन्तिरिक तथा बाह्य पर्यटकहरुका लागि त्यहाँ सम्म जाने वातावरण तय गर्ने आफुहरुको योजना रहेको समेत उहाँले बताउनुभयो । साथै, चाँडै नै उक्त बृतचित्र राष्ट्रिय टेलिभिजनहरु मार्फत प्रसारण हुने जानकारी दिनुभयो ।
ल्हाप्साङकार्पो म्युजिक सेन्टरले उत्पादन गरेको उक्त वृतचित्रमा छायाँकन तथा सम्पादन पनि रोशन फ्युवा कै रहेको छ । यस्तै, जीवन कुमार योञ्जनको लेखन रहेको बृतचित्रको स्कृप्ट सम्पादन भने अजितमान तामाङले गर्नुभएको छ । यसैगरी, वृतचित्रमा स्वरांकन अमरध्वज लामाको रहेको छ भने छायाँकनका लागि सहयोग प्रकाश तामाङले गर्नुभएको छ । टेकेन्द्र शाहको रंग संयोजन रहेको बृतचित्रमा पाश्व संगीत वाङ्चु फ्युवाको रहेको छ भने यातायातको लागि सुरेन्द्र थिङ तामाङले गर्नुभएको छ ।
यसैगरी, उक्त बृतचित्रका श्रोत व्यक्तिहरुमा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा बिकास समितिका अध्यक्ष, फुपु छेम्बे शेर्पा खेन्पो गेशे थुप्तेन जिग्डोल, कार्यकारी निर्देशक होम बहादुर दोङ, बौद्ध धर्म अध्यता तथा अनुसन्धानकर्ता अजितमान तामाङ, मोहन कुमार योञ्जन, खनियाबास गाउँपालिका धादिङका अध्यक्ष, रण बहादुर तामाङ, किस्पाङ गाउँपालिका नुवाकोटका अध्यक्ष छत्र बहादुर तामाङ, लोपेन सम्तेन तामाङ,मान बहादुर तामाङ, फुर्पा लामा, प्रशान्त तामाङ रहेका छन् ।
धादिङ, नुवाकोट र रसुवाको मुर्त तथा अमुर्त सम्पदाका रुपमा परिचित सिङ्ल्हा क्षेत्रमा प्राकृतिक रुपमा मनोरम धार्मिक स्थलका साथै ओडारहरु समेत देख्न सकिन्छ । हेर्दा नै सुन्दर र जाउँ जाउँ लाग्ने सिङ्ल्हामा जाने रहर कसको पो छैन होला र । पक्कै पनि त्यहाँ अनेकन सभ्यता लुकेको पाईन्छ ।
विशेषगरी गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएको प्राकृतिक, धार्मिक तथा ऐतिहासिक रुपले महत्वपूर्ण पर्यटकिय गन्तव्य हुँदाहुँदै पनि उक्त क्षेत्रमा भौतिक पूर्वधार निर्माणका साथै बासस्थान, होमस्टे, पदमार्ग लगायतका संरचनाहरु निमार्ण गर्न आवश्यक भएकाले आगामी दिनमा पर्यटकिय हिसाबले विकासका साथै प्रवर्दन गर्न सके नेपालमा मात्रै नभएर विश्व सामु नै सिङ्ल्हालाई परिचित गराउन सकिनेछ । पर्यटकीय सम्भावना बोकेका धार्मिकस्थलहरुको विकास गर्न सकिएमा धार्मिक पर्यटन प्रवद्र्धन मार्फत उक्त क्षेत्रमा आयआर्जन भई आर्थिक विकास र समृद्धि हासिल हुनेछ ।