शुक्रबार, बैशाख ०७, २०८१

चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक : राष्ट्रपति भण्डारी

रौतहट । राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे क्षेत्रको संरक्षणमा सबै पक्षको सहकार्य आवश्यक रहेको बताएकी छन् ।

आइतबार रौतहटको माधवनारायण नगरपालिका–३ मा सञ्चालनमा आएको गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गर्दै उनले तराइ मधेशको जीवनसँग प्रत्यक्ष जोडिएको चुरे पर्वत श्रृंखलाको संरक्षणमा सरोकारवाला सबै गम्भीर रुपले लाग्नुपर्ने धारणा राखिन् ।

चुरे क्षेत्रमा हाल राष्ट्रपति चुरे संरक्षण कार्यक्रम मार्फत संरक्षणका विभिन्न कार्यक्रम भइरहेको छ ।

राष्ट्रपति भण्डारीले तराइ मधेशको भूभागमा कृषि कार्यलाई प्रोत्साहन गर्दै अन्नबाली उत्पादन बढाउँदा त्यसले देशको अर्थतन्त्रमा ठूलो टेवा दिने बताइन् । कृषि उद्योगको विकासबाट स्वेदशमै रोजगारी सिर्जना भई स्थानीय समुदायको आयआर्जन गराउन तथा उद्यमशीलता प्रवर्द्धन गर्न समेत मद्दत पुग्ने उनले बताइन् ।

प्रदेश सरकारले सुरु गरेको बेटी बचाउ, बेटी पढाउ कार्यक्रमले मधेशका छोरीहरुको शैक्षिक स्तरमा वृद्धि भएको बताउदै राष्ट्रपति भण्डारीले स्थानीय सरकारहरुले विद्यालय शिक्षा तथा स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखिन् ।

तराइ मधेशमा व्याप्त बोक्सी तथा दाइजोजस्ता कुप्रथाहरु हटाउन स्थानीय स्तरबाटै जनचेतना अभिवृद्धि हुनुपर्ने उनले बताइन् ।

गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठानद्वारा निर्मित ३०० शय्याको सो अस्पतालको उदघाटन कार्यक्रममा मधेश प्रदेश प्रमुख हरिशंकर मिश्र, पूर्वउपप्रधानमन्त्री तथा जसपाका नेता राजेन्द्र महतो, पूर्वमन्त्री तथा रौतहट क्षेत्र नं १ का सासंद अनिल झा, पूर्वराज्यमन्त्री डिम्पल झालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।