बुधबार, असोज १०, २०८०

गुरू पद्मसंभवसंग सम्बन्धीत वृत्तचित्र “सिङ्ल्हा” सोमबार प्रदर्शन हुने

काठमाडौं । धादिङको खनियाबास गाउँपालिका वडा नं २ झार्लाङमा धार्मिकस्थलको रुपमा अवस्थित सिङ्ल्हाका पर्यटकीय विषय वस्तु समेटिएर बनाइएको “सिङ्ल्हा” नामक वृत्तचित्र प्रदर्शन गरिने भएको छ ।

गायक रोशन फ्युवाद्वारा निर्देशित उक्त वृतचित्र आगामी चैत्र २८ गते काठमाडौंको गोंगबुस्थीत स्काई पार्टी प्यालेसमा प्रदर्शन हुने भएको हो । उक्त वृतचित्रमा छायाँकन पनि रोशन फ्युवाले नै गर्नुभएको छ भने सम्पादन अजितमान तामाङ र फ्युवा कै रहेको छ । जीवन कुमार योञ्जनको लेखन रहेको वृतचित्रमा स्वरांकन अमरध्वज लामाले गर्नुभएको छ ।

 

 

 

 

 

“सिङ्ल्हा” को पर्यटन विकास तथा त्यस क्षेत्रका सकारात्मक परिचय निर्माण गर्ने उद्देश्यले वृत्तचित्र निर्माण गरिएको निर्देशक रोशन फ्युवा तामाङ बताउनुहुन्छ । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय बौद्ध दर्शन प्रवर्दन तथा गुम्बा बिकास समितिद्वारा निर्माण गरिएको उक्त वृत्तचित्र प्रदर्शनको दिन प्रमाणपत्र वितरण कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो ।

अत्यन्तै सुन्दर एवम् मनमोहक स्थानमा अवस्थित सिङ्ल्हालाई गुरू पद्मसंभवले सिद्धि प्राप्त गरेको/अलप भएको प्राचीन धार्मिक तिर्थस्थलका रुपमा समेत चिनिन्छ । उहाँले विशेष हिमाली भेगहरुमा बुद्ध धर्म प्रचार गर्न अत्यन्त महत्वपूर्ण भूमिका निभाउनु भएको थियो । आचार्य पद्मसंभवले प्राणी हितार्थ अनेकौँ कार्य गर्नु भई शान्ति स्थापना गरी सिङ्ल्हाबाट सूर्यको किरणसँग अलप भएको भन्ने किम्बदन्ती पाइन्छ ।

समुद्री सतहदेखि करिव ४ हजार मिटरमा रहेको उक्त स्थान पर्यटकीय दृष्टिकोणले मात्रै नभएर सुख, शान्ति र समृद्धिका मनोकांक्षा पूरा गर्न पूजापाठ गर्ने उद्देश्यले निर्मित एक पवित्र तिर्थस्थल हो ।

ल्हाप्साङकार्पो म्युजिक सेन्टरले उत्पादन गरेको उक्त वृतचित्रमा “सिङ्ल्हा” को ऐतिहासिक, धार्मिक तथा पर्यटकीय गन्तव्यकाबारे जानकारी दिने प्रयास गरिएको निर्देशक फ्युवाले बताउनुभयो । उक्त वृत्तचित्रमा विषेश गरी गुरू पद्मसंभवले सिद्धि प्राप्त गर्नुभएका प्राचिन पवित्र धार्मिक तिर्थस्थलहरुका महत्व समेटिएको निर्देशक फ्युवा बताउनुहुन्छ । म्हेन्दोमाया कलाकार संघका उपाध्यक्ष समेत रहनुभएका फ्युवा ऐतिहासिक स्थलको रुपमा चिनिने खनियाबास गाउँपालिका भित्रको धार्मिक तथा पर्यटकिय स्थलहरूको प्रचारप्रसारमा लगातार लागिरहनुभएको छ ।

उक्त क्षेत्रमा लुकेर रहेको विभिन्न महत्वपूर्ण स्थलहरु विश्वसामु परिचीत गराउने उहाँको योजना रहेको छ । लाप्साङकार्पो म्युजिक सेन्टरका प्रबन्ध निर्देशक रोशन फ्युवालाई मेन्दोमाया गायकका रुपमा चिनिन्छ । म्हेन्दोमाया गीत सङ्गीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक फ्युवाको कथा, पटकथा, सम्वाद र गीत रचना तथा संगीत रहेको विभिन्न चलचित्र समेत निमार्ण भईसकेका छन् ।

व्यवसायिक सिर्जनशीलतासहित कलकारितामा आउनुभएका फ्युवाले नेपालको पर्यटन प्रवद्र्धनलाई कला मार्फत नै थप विस्तार गरिनुपर्ने उद्धेश्यका साथ करिव एक दर्जन देशको भ्रमण गरिसक्नुभएको छ । आन्तरिक र वाह्य पर्यटकलाई समेत आकर्षित तुल्याउन सक्ने सिङ्ल्हाको संरक्षण, प्रचारप्रसारका लागि नयाँ आयाम दिनुपर्छ भन्ने सोच उहाँ राख्नुहुन्छ ।