बिहिबार, बैशाख ०६, २०८१

चैत २६ गतेभित्र चुनावी तालमेलबारे निर्णय दिन सत्ता गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनको चुनावी तयारी तथा अनुगमन समितिको बैठकले चुनावी तालमेलका लागि स्थानीय तहको अवस्थाबारे चैत २६ गतेभित्र रिपोर्ट बुझाउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले चैत २६ गतेसम्म तलका कमिटीबाट रिपोर्ट माग्ने निर्णय गरेको हो । समितिका संयोजक रामचन्द्र पौडेलले नेतृत्वमा बसेको बैठकले प्रदेश, जिल्ला लगायत चुनावी तालमेल संयन्त्रलाई रिपोर्ट बुझाउन निर्देशन दिएको हो ।

जिल्ला, प्रदेश र पालिकामा बनेको गठबन्धनको संयन्त्रबाट रिपोर्ट आइसकेपछि थप छलफल गर्नका लागि चैत २७ गते फेरि बैठक बस्ने बताइएको छ । गठबन्धनले पालिकासम्म चुनावी तालमेल संयन्त्र बनाउने गठबन्धनको तयारी गरेको छ ।

मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले पौडेलको नेतृत्वमा चुनाव परिचालन समिति गठन गरेको थियो । समितिमा कांग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की सदस्य छन् । त्यस्तै, नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन र देवप्रसाद गुरूङ, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र नेता विजय पौडेल, जसपाबाट वरिष्ठ नेता अशोक राई र मन्त्री रेणु यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य छन् ।