शनिबार, असोज ०८, २०७९

धरहरा चढेर काठमाडौँ सहर नियाल्न अझै ९ महिना कुर्नुपर्ने

काठमाडौं । धरहरा चढेर काठमाडौँ सहर नियाल्ने रहर पूरा गर्न नेपाली जनताले अझै नौ महिना कुर्नुपर्ने भएको छ । ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य सकी उद्घाटन गरेको पनि एक वर्ष पुग्न लाग्दासम्म सर्वसाधारणले प्रयोग गर्न पाएका छैनन् । गत वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त टावरको उद्घाटन गरेका थिए । एक वर्षअघि उद्घाटन गरिएको भए पनि सर्वसाधारणले धरहरा चढ्नका लागि भने अझै नौ महिना कुर्नुपर्ने जनाइएको छ ।

उद्घाटनको समयमा धरहराको मात्रै पुनः निर्माण सम्पन्न भएको र अन्य धेरै काम बाँकी रहेकाले अझै प्रयोगमा आउन नसकेको हो । भूकम्प गएको तीन वर्षपछि मात्रै यस सम्पदाको पुनःनिर्माणको कामले गति लिएको थियो । गोर्खा भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको सुरुआत विसं २०७५ पुस १२ मा भएको हो । विसं २०७२ को विनाशकारी भूकम्पबाट धरहरालगायत अन्य धेरै ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए ।
चौथो पटक थप समयको माग
यस ऐतिहासिक सम्पदा पुनः निर्माणका लागि तेस्रो पटक थपिएको समयमा पनि काम सम्पन्न नभएपछि निर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले चौथो पटक थप समय माग गरेको छ । तेस्रो पटक थपिएको समय यही चैत मसान्तमा सकिन्छ ।
दुई वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको भए पनि पूर्णरूपमा काम सम्पन्न हुन अझै समय लाग्ने भएपछि समय थप्न आग्रह गरिएको हो ।

रमन कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार कोरोना महामारी र अन्य केही आन्तरिक समस्याका कारण निर्धारित समयमै काम पूरा नहुने भएपछि पुनःनिर्माण लागि पुनः चौथो पटक समय माग गरिएको हो ।

नेपाली र केही भारतीय नागरिकसहित दैनिक २२० जना कामदारले अहिले नियमितरूपमा निर्माण कार्यमा जुटिरहेका छन् । धरहरा निर्माणको मुख्य काम सकिए पनि सौन्दर्य अभिवृद्धि र पार्किङको काम बाँकी भइरहेको छ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी हल, पार्किङस्थल, पसललगायत रहने छन् ।

धरहरा परिसरमा पार्किङसहित रेष्टुराँ, बगैँचा, पुस्तकालयलगायतको सुविधा हुनेछन् । गोस्वारा हुलाक भएको स्थानमा पार्क बनाउनका लागि अहिले उक्त भवन भत्काइसकिएको छ । पार्कभित्र बस्ने ठाउँ, ढुङ्गेधारा, हरियाली, चमेना गृह हुनेछ । धरहरामा पढ्न चाहने, ध्यान गर्न चाहने या बस्न चाहने सबैका लागि सुविधा उपलब्ध हुनेछ ।

बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने र त्यहाँ आउने अवलोकनकर्ता सवारी साधनको व्यवस्थित पार्किङ गर्न सकिने गरी पुनःनिर्माण भइरहेको छ । पुरातात्विक हिसाबले महत्व बोकेको काठमाडौँलाई सुरक्षित र आकर्षित बनाउन ऐतिहासिक सम्पदाको पुनःनिर्माण अत्यावश्यक भएको काठमाडौँ महानगरपालिकाको भनाइ छ ।

धरहराको १८ औँ तलामा अवलोकलन कक्ष हुनुका साथै धरहरा परिसरमा म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्टका साथै अत्याधुनिक पार्किङको व्यवस्था गरिने छ । त्यहाँ ३५० वटा गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।
विगतको ११ तले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि ९ तला रहेको थियो । ऐतिहासिक धरोहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका हुन् ।

%d bloggers like this: