काठमाडौँ १० चैत । गत पुस महिनादेखि तरलता अभावको कारण देखाउंदै रास्ट्र बैंकले घर जग्गा र गाडी कर्जामा कडाइ गरेपछि यस वेला घर जग्गासंगै नयाँ गाडी खरिदबिक्री घटेको छ ।
नेपालमा अहिले प्रयोग हुने सवारी साधनको संख्या करिब २३ लाख हाराहारी छ । यातायात व्यवस्था कार्यालयको बिवरण अनुसार जम्मा सावरी मध्ये निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनको हिस्सा करिब २० लाख रहेको देखिन्छ । यसको अर्थ हाम्रा सडकमा चल्ने सार्वजनिक यातायातले जम्मा सवारीको १० प्रतिशत भन्दा कम संख्या ओगट्छन र त्यही संख्याले ठूलो संख्याका नागरिकलाई यातायात सेवा दिनु पर्छ ।
नेपालीको औसत आम्दानी कम छ । त्यसमाथि सवारी साधनमा कायम गरिएको उच्च भन्सार शूल्कले नेपालमा निजी सवारीको मूल्य वास्तविक भन्दा तीन गुणा बढी पर्न जान्छ । यही अवस्थालाई मध्यनजर गर्दै बिगत केही बर्षमा बैंक तथा वित्तीय संस्थाले सवारी साधनको मूल्यको ९० प्रतिशतसम्म फ़ाइनान्सिङ्ग सुबिधा दिन थालेपछि निजी सवारी प्रयोग कर्ताको संख्या ह्वात्तै बढ्यो ।
तर गत पुस महिनादेखि तरलता अभावको कारण देखाउंदै रास्ट्र बैंकले गाडी कर्जामा कडाइ गरेपछि बजारमा नयाँ गाडी खरिदबिक्री ६० देखि ७० प्रतिशतले कम भएको छ । अहिले जम्मा मूल्यको आधा मात्र बैंक कर्जा पाइने व्यवस्था छ भने बैंकले पहिले ५ प्रतिशत सम्ममा पाइने ब्याज बढाएर १० प्रतिशत भन्दा माथि पुर्याएका छन् । गाडीलाई साँच्चै विलासिताको साधन बनाइएदिएको छ यो कर्जा प्रणालीले ।
गत आर्थिक बर्षमा जम्मा राजस्वको ४० प्रतिशत योगदान अटो क्षेत्रको रहेको अर्थ मन्त्रालयको आँकडाले देखाएको छ । यसबर्ष अटो क्षेत्रको राजस्व योगदान घट्ने निश्चित छ ।