शनिबार, असोज ०८, २०७९

वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले आहुतिको नेतृत्वमा ९९ सदस्यीय समिति चयन

काठमाडौं । वैज्ञानिक समाजवादी पार्टीको राष्ट्रिय भेलाले विश्वभक्त दुलाल (आहुति)को नेतृत्वमा ९९ सदस्यीय कार्यसमिति चयन गरेको छ । साथै भेलाले कार्यकारी अधिकारसहितको पाँच सदस्यीय प्रवुद्ध समिति पनि गठन गरेको छ ।

प्रवुद्ध समितिको संयोजकमा कलैयाका ९० वर्षीय नन्दन अर्याल चुनिएका छन् । डा. शिवशंकर यादव, रोहित हिङनाम, हरिदेव ठाकुर लगायत प्रवुद्ध समितिको सदस्य छन् ।
केन्द्रीय सदस्य मदन अर्याल (प्रभात)का अनुसार कम्युनिष्ट आन्दोलनमा योगदान गरेकाहरु पाका व्यक्तिहरु रहने प्रवुद्ध समितिले केन्द्रीय समितिको निर्णयलाई पनि भिटो प्रयोग गरेर रोकेर फिर्ता पठाइदिन सक्छ । त्यसलाई नसच्याइकन फेरि ल्याइए राष्ट्रिय भेला समेत बोलाउन सक्ने अधिकार रहेको अर्यालले बताए ।

वैज्ञानिक समाजवादी पार्टीको केन्द्रीय समितिमा ४० प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ । यद्यपि केन्द्रीय समितिले पूर्णता पाउन भने बाँकी छ । सचिवालय गठन र एकजना प्रवक्ता चयन गर्न पनि बाँकी छ । केन्द्रीय समितिको एक तिहाइ सदस्य सचिवालयमा रहन्छन् । केन्द्रीय समितिले पूर्णता पाएपछि सचिवालय गठन हुने एक नेताले बताए ।

%d bloggers like this: