शनिबार, बैशाख ०८, २०८१

प्रधानमन्त्री देउवाको तीन दिने भारत भ्रमण : आज नयाँ दिल्ली प्रस्थान गर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवाको यो भ्रमण पाँचौंपटक प्रधानमन्त्री भएपछिको पहिलो औपचारिक भ्रमण हो ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डल नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः२५ बजे नयाँदिल्ली प्रस्थान गर्नेछ । चैत २० गते साँझ ६ः१० स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ । स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कालगायत मन्त्रीहरु, सचिवहरु तथा पदाधिकारीहरु रहनेछन् । भ्रमण टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मीगरी करिब ५० जना सहभागी हुनेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्नेछन् । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ ।