शनिबार, बैशाख ०८, २०८१

फोहोर व्यवस्थापनका लागि ‘एक घर एक डस्बिन’ वितरण

काठमाडौं । आफ्नो नगर, वडा र समाज सफा राख्न सफा र स्वच्छ वातावरणको आवश्यक पर्दछ । आफ्नो गाउँ टोलको सरसफाई गर्दै वातावरण स्वच्छ राख्न स्थानीयकै भुमिका महत्वपूर्ण रहेको हुन्छ । व्यक्ति व्यक्तिमा असल संस्कारको विकास भएमात्र देशको विकास हुने भएकाले वडालाई स्वच्छ र सफा राख्न हरेक टोल विकास संस्थाहरुका साथै वडा प्रतिनिधिहरु पनि उक्तिकै सक्रिय हुन जरुरी छ ।

वातावरण प्रदूषण नियन्त्रण तथा सरसफाई कायम गरी उदाहरणीय टोल निर्माणको लागि फोहरमैला व्यवस्थित हुन आवश्यक छ । त्यसैले, फोहोर व्यवस्थापनका लागि डस्बिन आवश्यक भएकाले बुढानीलकण्ठ नगरपालिकामा वडा नम्बर १२ ले एक घर एक डस्बिन वितरण गर्दैछ । बाल सचेतना केन्द्र नेपालको प्राविधिक संयोजन रहेको एक घर एक डस्बिन वितरण कार्यक्रम आगामी १४ गते सोमबार पुष्पलाल मेमोरियल स्कुलबाट शुरु हुनेछ ।

वडामा फोहोर नियन्त्रणमा सहायता पुग्ने उद्धेश्यले डस्बिन विरण गर्न लागिएको बाल सचेतना केन्द्र नेपालका अध्यक्ष बावुराम फुयालले जानकारी दिए । फोहोरको व्यवस्थापन गरेमा वातावरणसमेत स्वच्छ हुने र जनाताका स्वास्थ्यमा समेत सुधार आउने उनको भनाई छ । समाज र देशको विकासका लागि असल संस्कार आवश्यक रहेकाले सरसफाइका साथै जनचेतनामूलक र सामाजिक काम अपरिहार्य रहेको केन्द्रका अध्यक्ष फुयाल बताउँछन् । केन्द्रले यसअघि पनि विभिन्न क्षेत्रमा सरसफाईसँगै विभिन्न सामग्री समेत प्रदान गर्दै आएको छ ।