मङ्गलबार, असोज ०९, २०८०

बुढानीलकण्ठ नगरपालिका वडा नं १२ र बाल सचेतना केन्द्रको संयुक्त्त आयोजनामा वक्तृत्वकला प्रतियोगिता

मायालु लामा, काठमाडौँ । समाज रुपान्तरण गर्ने सपना हामी सबैको हो । मुलुकमा अझैपनि परिवार, समाज, सामाजिक एवं सांस्कृतिक, आर्थिक रुपान्तरणदेखि जातिय आधारमा हुने विभेदसम्मका मुद्धा ओझेलमा नै छन् । हामीले त केवल ठूला सपना मात्र देख्न सिकेको छौं । तर त्यसलाई प्राप्त गर्ने वा कुनै न कुनै रुपमा पुरा गर्ने बाटोमा हामी लाग्न सकेका छैनौं। हुनत, कतिपय स्थानमा नेतृत्वले पनि त्यो बाटो देखाउन सफल भएको भने देखिदैन।

के हामीले देखेका वा हामीलाई देखाइएको परिवर्तन यहि नै हो त । यी सवालमा जवाफ दिने तागत नेतृत्वसँग अवश्य पनि छैन । जनतालाई आश्वासन दिएर आरामदायी कुर्सीमा विराजमान जनप्रतिनिधिहरु समाजसँग सरोकार राख्ने मुद्धामा गम्भीर छैनन् त भन्ने प्रशन उठ्ने गरेको छ। उनीहरुले त केवल पदमा रहिरहने भर्‍याङका रुपमा सामाजिक रुपान्तरणको नारा प्रयोग गर्ने गरेको आम जनमानसको गुनासो छ । पक्कै पनि सामाजिक परिवर्तनका प्रयासहरु कुनै एउटा जातजाति, वर्ग वा समुह केन्द्रीत नभई बृहत्तर सामाजिक हितका लागि हुन आवश्यक छ ।

नेपालको संविधान २०७२ ले राज्य सञ्चालन र समाजको दैनिकीमा प्रत्येक्ष असर पार्ने उद्देश्य सहित विभिन्न अग्रगामी सामाजिक रुपान्तरणका प्रावधानहरुको व्यवस्था गरेको छ। तर, राम्रो कानुनको निर्माणले मात्रै समाजको निर्माण भने हुँदैन। त्यसका लागि कानुनको प्रभावकारी कार्यान्वयन गरिनुपर्दछ । यस्तै, सामाजिक रुपान्तरण गरी समतामुलक समाजको निर्माणका लागि बालबालिकाहरुको पनि उक्तिकै भूमिका रहेको पाईन्छ । उनीहरुलाई कितावी ज्ञानका साथै समसामायिक महत्वपूर्ण विषयको बारेमा पनि जानकारी गराउनुपर्छ । राष्ट्रको सम्मुन्नत विकास र संसार सामु चिनाउन बालबालिकाको नै मुख्य भुमिका रहन्छ ।

त्यसैलाई, मध्यनजर गर्दै विभिन्न संघ संस्था, प्रशासन, स्थानीय निकायका साथै विद्यालयहरुले पनि बालबालिका लक्षित कार्यक्रमहरु गर्दै आएको पाईन्छ । बुढानीलकण्ठ नगरपालिकामा वडा भित्रका प्रतिनिधिहरुले के कस्ता कामहरु गरे र आगामी दिनमा उनीहरुले के गर्छन त त्यो भने हेर्न बाँकी नै छ । तर, आज बालबालिकाहरुले समाज रुपान्तरणको लागि वडा अध्यक्षको भूमिका शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा आफु अध्यक्ष भएमा विकासका कामहरु गर्ने प्रतिवद्धता समेत गरे । पक्कै पनि वडा अध्यक्ष भएपछि जनताका दुख पिडालाई बुझ्न जरुरी छ ।

मंगलबार बुढानीलकण्ठ नगरपालिका वडा नं १२ ले आयोजना गरेको वडास्तरीय वक्तृत्वकला प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरुले समाज रुपान्तरणका लागि वडा अध्यक्षको भूमिका कस्तो रहन्छ र आगामी दिनमा के गर्दा उचित होला भन्ने विषयमा आ आफ्ना भनाई राखेका थिए । बाल सचेतना केन्द्र नेपालको संयोजनमा त्रि ज्योति माध्यामिक विद्यालयको सभा हलका भएको उक्त प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थीहरु क्रमश ः टेकेन्द्र अधिकारी, अनिशा तामाङ, निराजन कटुवाल, मेरिना दाहाल, कृति पोखरेल, सन्दिप अर्याल, पोष्ट राज दाहाल, राजिव कार्कि, निकिता तामाङ, संगम कार्कि, आर्जु अर्याल,ज्योतिका राई र सन्जय बस्तेतले समाज रुपान्तरणका लागि वडा अध्यक्षको भुमिका कस्तो रहन्छ भन्ने विषयमा आ आफ्ना भाव प्रकट गरेका थिए ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले वक्तृत्वकलामा भाग लिएका सम्पूर्णलाई विद्यार्थीहरुलाई बधाई दिदैं बालबालिकामा पनि समाज रुपान्तरण गर्ने उत्कृष्ठ क्षमता भएको बताए । नगरपालिकाले सामाजिक कामका लागि विभिन्न संघ संस्थाहरु संग सहकार्य गरी बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने यस्ता कार्यहरु गर्दै आएको बताउँदै प्रतियोगिताले विद्यार्थीहरुमा निहित प्रतिभालाई प्रस्फुटन गर्ने अवसर समेत प्रदान गर्ने बताए ।

प्रतियोगितामा घट्टराज मेमोरियल स्कुलका कृति पोखरेल प्रथम, पायोनीयर पब्लिक स्कुलका मेरिना दाहाल द्धितीय , पुष्पलाल मेमोरियल स्कुलका संगम कार्कि तृतीय र घट्टराज मेमोरियल स्कुलका सन्दिप अर्याल सान्त्वना पुरस्कार पाउन सफल भएका थिए । प्रतियोगितामा प्रथम हुनेलाई रु.५ हजार नगद सहित प्रमाणपत्र, द्धितीयलाई रु. २५०० नगदसहित प्रमाणपत्र, तृतीयृ रु. १५०० नगदसहित प्रमाणपत्र र सान्त्वना पुरस्कार प्राप्त गर्न सफललाई रु. १००० नगदसहित प्रमाणपत्र र अन्य सहभागि प्रतिस्पर्धिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगितामा वडा अध्यक्ष शम्भु भट्टराई, वडा सचिव मनिश भट्टराई, वडा सदस्य पुरुसोतम नेपाल,  वडा प्रतिनिधिहरु, त्री ज्योती माध्यामिक विद्यालयका प्राचार्य गणेश कुमार मिश्र, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थी, समाजसेवी राजु कार्की, बाल सचेतना केन्द्र नेपालका सम्पूर्ण सदस्य, सल्लाहकार, पत्रकार लगायत स्थानियको उपस्थित रहेको थियो । बाल सचेता केन्द्र नेपालले विगत १० वर्षदेखि बालबालिका, वृद्धवृद्धा, अपाङ्ग, विपन्न नागरिकका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।