बिहिबार, बैशाख ०६, २०८१

यद्धका कारण एक करोड युक्रेनी नागरिक घर छाडेर भाग्न बाध्य

मस्कोले दिएको समयसीमाभन्दा अगावै युक्रेनी सरकारले निरन्तर आक्रमणमा परिरहेको मारिओपोल सहरमा आत्मसमर्पण नगर्ने जवाफ दिएको छ । आत्मसमर्पण गरेर हतियार त्यागे लडाकु र गैरसैनिकलाई सुरक्षित मार्ग दिने रुसले भनेको थियो । युक्रेनकी उपप्रधानमन्त्री इरिना भेरेस्चुकले आफ्ना सैनिकले हतियार त्याग्ने प्रश्नै नउठ्ने बताएकी छन् ।

रुसले आत्मसमर्पण गर्न दिएको समयसीमा सकिनु घण्टौँ अगाडि नै उनले त्यसो भनेकी हुन् । मस्कोले सोमबारबाट त्यहाँ सुरक्षित मार्ग खोलिदिने बताएको छ । कोही बाँकी रहे उनीहरूले सैन्य अदालतको सामना गर्नुपर्ने पनि उसले चेतावनी दिएको छ । तर मारिओपोल सहरका मेयरका एकजना सल्लाहकारले मस्कोको प्रस्ताव विश्वास गर्न नसकिने भन्दै अन्तिमसम्म लडिरहने बताए ।

दक्षिणी बन्दरगाह सहर मारिओपोलमा रुसले हप्तौँदेखि घेराबन्दी तथा निरन्तर आक्रमण गरिरहेको छ । यसबीच मस्कोस्थित रक्षा मन्त्रालयले मारिओपोलमा डरलाग्दो मानवीय सङ्कट उत्पन्न भइरहेको स्वीकारेको छ ।

रुसी बमबारीका कारण मारिओपोल सहर लगभग ध्वस्त भइसकेको बताइएको छ । आइतबार राजधानी किएभमा पनि ठूल्ठूला विस्फोटहरू भएका छन् । त्यहाँका मेयरका अनुसार कैयन् घरहरू तथा एक किनमेल केन्द्र समेत निसानामा परेका छन् । संयुक्त राष्ट्रसङ्घको शरणार्थीसम्बन्धी निकायले युक्रेनमा युद्धका कारण घर छाडेर भाग्नेहरूको सङ्ख्या १ करोड पुगेको जनाएको छ ।

युक्रेनको कूल जनसङ्ख्याको त्यो एक चौथाइ हो । विस्थापित हुने गति र व्यापकताको हिसाबबाट यो पछिल्ला दशकहरूकै अभूतपूर्व घटना रहेको सो निकायले बताएको छ । विस्थापितहरूमध्ये झन्डै ३५ लाख मानिसले देश नै छाडेका छन्।