शुक्रबार, चैत १६, २०८०

सिंह भएर गर्जिन नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनलाई सामान्यरुपमा नलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

शनिबार सिन्धुलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यो निर्वाचन माओवादीका लागि हारजितको मात्र नभएको बताएका हुन् । उनले भने, ‘यो निर्वाचन सामान्य निर्वाचन नठान्नुहोला। यो निर्वाचन हामीले हार्यौं भने संविधान, गणतन्त्र, जनयुद्धको उपलब्धि, शान्ति प्रक्रिया हार्ने खतरा छ । हामीले जित्नैपर्छ। आज हामीले संकल्प गर्नैपर्छ, रातदिन सुत्नु हुँदैन।’

आफूहरुले रगत बगाएर ल्याएको गणतन्त्र धरापमा परेको भन्दै उनले भन्दै जोशका साथ निर्वाचनमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए । उनले अब भेडा भएर नभई सिंह भएर गर्जिनुपर्ने बताए ।

उनले भने, ‘हामी सिंह हौं, तर १२–१५ वर्ष भेडाहरूसँग हिँड्दाहिँड्दा भ्याँभ्याँ मात्रै गर्यौं । अब एकपटक सिंह जस्तै गर्जिन जरुरी छ ।’ उनले अब आफ्नै तागतमा आउँदो निर्वाचन जित्ने संकल्प गर्न पनि आग्रह गरे ।

अध्यक्ष प्रचण्डले प्रतिक्रियावादी र विघटनकारी शक्तिबाट देश अझै खतरामा रहेको बताए । उनले भने,‘सदन विघटन गर्न चाहने प्रवृत्ति अहिले पनि कायम छन् । लोकतन्त्र खारेज गर्ने शक्तिलाई सडकबाट हामीले परास्त गरेकै हो । तर रिल्याक्स गर्ने अवस्था छैन ।’