शनिबार, बैशाख ०८, २०८१

एक्लै बहुमत ल्याउन सक्ने अवस्था छैन, कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन कांग्रेस, प्रजातन्त्र र देशका लागि आवश्यक भएको बताएका छन् । बिहीबार वीरगंजमा पार्टीको पर्सा जिल्लाका नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई तथा प्रमाणपत्र हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धन चुनावसम्म जाने बताएका हुन् ।

प्रधानमन्त्रीले स्थानीय तहदेखि संघीय चुनावसम्म गठबन्धन गर्ने विषयमा छलफल हुने बताए । उनले भने, ‘एक्लै बहुमत ल्याउन सक्ने अवस्था छैन । हिजो एक्लै चुनाव लड्दाको अवस्था के थियो भन्ने कुरा पनि बुझ्नुपर्छ । कुनै न कुनै पार्टीसँग मिल्नुपर्ने अवस्था छ । सबैको सहयोग लिएर अघि बढ्नुपर्छ ।’

उनले गठबन्धनकै सहयोगमा कांग्रेसको सरकार र आफू प्रधानमन्त्री बनेको भन्दै गठबन्धनलाई एकसाथ लानु लोकतन्त्र र स्वयं पार्टीका लागि सही हुने बताए । उनले अनावश्यक रुपमा गठबन्धन र विपक्षी पार्टीलाई चिढ्याउने काम नगर्न नेता कार्यकर्तालाई आग्रह गरे । प्रधानमन्त्रीले एमसीसी ऋण नभई अनुदान भएकाले नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान हुने बताए ।