बिहिबार, बैशाख ०६, २०८१

चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ प्रदर्शनमा, मुख्य भूमिकामा पल-पूजा

काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ शुक्रबारदेखि प्रदर्शनमा आएको छ । कोरोना संक्रमणअघि नै निर्माण सम्पन्न भएको चलचित्रको प्रदर्शन यसअघि पटकपटक सरेको थियो ।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र निर्माण सकिएको दुई वर्षपछि देशव्यापी प्रदर्शनमा आएको हो । चलचित्रको बुधबार साँझ राजधानीमा प्रिमियर शो आयोजना गरिएको थियो । जहाँ अधिकांश चलचित्रर्मीले ‘म यस्तो गीत गाउँछु २’को खुलेर प्रशंसा गरेका थिए ।

सुदर्शन थापाको निर्देशन रहेको म्युजिकल लभस्टोरी चलचित्रमा पल र पूजाका साथमा हरिहर शर्मा, दिनेश डीसी, राजाराजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतको अभिनय छ । साढे दुई करोडको लगानी रहेको चलचित्रलाई सुदर्शन थापा र पूजा शर्माले निर्माण गरेका हुन् ।

यतिबेला यस चलचित्रको व्यापारलाई समग्र चलचित्रकर्मीले निकै चासोका साथ हेरिरहेका छन् । अभिनेता पल शाह कानुनी झमेलामा परेका कारण चलचित्रको व्यापारलाई त्यसले असर पुर्‍याउँछ कि पुर्‍याउँदैन भन्ने चासो आम चलचित्रर्मीमा छ ।