शनिबार, बैशाख ०८, २०८१

कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीचको वार्ता विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भएको छलफल विना निष्कर्ष टुंगिएको हो ।

छलफलमा कुनै निर्णय हुन नसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग एमसीसी पारितका लागि आग्रह गरेका थिए ।

जवाफमा अध्यक्ष ओलीले आफ्ना माग पूरा नभएकाले संसदमा गएर छलफल गर्न सकिने अवस्था नरहेको बताएका थिए । एमाले नेता विष्णु रिजालले नेकपा एमालेले आफ्नो पूर्ववत् अडान कार्यान्वयनका लागि पुनः जोड दिएको बताए ।

छलफलमा अध्यक्ष ओलीसहित एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ सहभागी थिए । कांग्रेसका तर्फबाट प्रधानमन्त्री देउवासहित सञ्चारमन्त्री कार्की, उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा सहभागी थिए थिए ।