शुक्रबार, बैशाख ०७, २०८१

राप्रप्राको विधानबाट निर्वाचन आयोगले हिन्दु राष्ट्र र राजसंस्था हटायो

काठमाडौं । निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै बिधानमा उल्लेखित हिन्दु राष्ट्र एवम् राजसंस्था सम्बन्धी वाक्यांश हटाइदिएको छ । यससँगै कुन एजेण्डा लिएर चुनावमा जाने भन्ने चिन्ताले नेताहरुलाई सताएको छ ।

कमल थापा नेतृत्वको राप्रपाको विधानको प्रस्तावनामै ‘…पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र एवं राजसंस्था सहितको लोकतन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न…’ भन्ने वाक्यांश छ । यसैगरी विधानको धारा पाँचमा ‘…नेपाललाई सनातन हिन्दुत्वको भावना अभिवृद्धि गर्ने’ भन्ने वाक्यांश छ ।

फागुन ६ गतेदेखि १० गतेसम्म राजधानीमा आयोजित राप्रपाको एकता महाधिवेशनले पारित गरेको विधानमा उल्लेखित केही वाक्यांशहरु नेपालको संविधानसँग मेल नखाएको भन्दै निर्वाचन आयोगले हटाइदिएको छ ।