शनिबार, बैशाख ०८, २०८१

पनौतीमा माघ महिनाभर बाह्रवर्षे मकर–स्नान

ऐतिहासिक, धार्मिक–सांस्कृतिक, पर्यटकीय तथा पुरातात्विक नगर पनौतीमा बाह्रवर्षे मकर मेलाअन्तर्गत आजदेखि मकर–स्नान सुरु भएको छ । तर स्वास्थ्य सुरक्षा–मापदण्ड अपनाएर २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा स्नानमात्रै गर्न पाइने मापदण्ड बनाइएको छ ।

काभ्रेपलाञ्चोकको पनौतीस्थित त्रिवेणीघाटमा एकपटकमा करिब दुई दर्जन भक्तजनको उपस्थिति गराई आजदेखि स्नान गर्न दिएको नगरले जनाएको छ । जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले कोरोनाको सङ्क्रमणको उच्च जोखिम रहेकाले २५ जनाभन्दा बढी भेला हुने गरी कार्यक्रम तथा महोत्सव नगर्न तथा पनौती नगरपालिका–७ त्रिवेणीघाट क्षेत्रमा सञ्चालन हुने बाह्रवर्षे बृहत् मकर मेलामा २५ जनाभन्दा कम र भीडभाड नहुने गरी स्वास्थ्यका सम्पूर्ण मापदण्ड अपनाई भक्तजनलाई स्नानमात्रै गर्ने व्यवस्था मिलाउन सुरक्षा निकाय, पनौती नगर कार्यालय तथा मेला व्यवस्थापन पक्षलाई आग्रह गरेको थियो ।

नगरले पनि विषेश सूचनामार्फत स्वास्थ्यका मापदण्ड अपनाएर मेला तथा अन्य विविध कार्यक्रम स्थगन गरी सुरक्षाका मापदण्ड अपनाएर मकर–स्नानमात्रै गर्न अपिल गरेको छ । “त्रिवेणीघाट र मठमन्दिरमा भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाएर मात्रै २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमिा स्नानमात्रै गर्न पाइने सूचित गरेका छौँ”, नगरप्रमुख भीम न्यौपानेले भन्नुभयो । उहाँका अनुसार कोरोनाको जोखिम नभए ५० लाख भक्तजन तथा दर्शनार्थीले पनौतीको मेला अवलोकन गर्ने अनुमान गरिएको थियो ।

अघिल्ला मेलाका लागि नेपालका मात्र नभई उत्तर भारत प्रयागबाटसमेत तीर्थालु आउने गर्दथे । मेला सभ्य र भव्य बनाउन नगरले विविध ब्यवस्थापन गरेको थियो । ट्राफिक व्यवस्थापन तथा पार्किङ, स्वयंसेवक, प्रदर्शनी, खानेपानी वितरण, स्नान–कुण्ड सरसफाइ एवं व्यवस्थापन, मन्दिर तथा मेलास्थलको सरसफाइ, झाँकी प्रदर्शनी, त्रिवेणीघाटलगायत नगर ऐतिहासिक बजार क्षेत्र सजिसजाउ, प्राथमिक उपचार, खोज तथा उद्धार, सूचना केन्द्र सञ्चालनलगायत व्यवस्थापनको काम गरेको थियो ।

हरेक बाह्र वर्षमा महिनाभर लाग्ने ‘मकर मेला’ सभ्य र भव्यरुपमा सञ्चालन गर्ने तयारीस्वरुप भौतिक पूर्वाधारका काम भएका छन् भने सँगसँगै प्रवद्र्धनका कार्यक्रमसमेत भएका थिए । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । त्रिवेणीघाटमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना सञ्चालन गरेको थियो । मेलाका लागि नगरले गत वर्षदेखि नै बजेट विनियोजन गर्दै तयारी थालेको हो ।

नगरले मेलाका लागि गत वर्ष रु पाँच करोड र यस वर्ष रु तीन करोड बजेट छुट्याएको थियो । त्रिवेणीघाटमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवथित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक विश्वास छ । मेलालाई थप व्यवस्थित बनाउन पनौतीसँग जोडिएका सडक पूर्णरूपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भएका छन् । स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा पक्की गर्ने काम अन्तिम चरणमा छ ।

मेला सम्पन्न गर्न गठित एक दर्जनभन्दा बढी उपभोक्ता समितिले त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिङ्गारेका छन् । हाल पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइएको छ । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वारसमेत निर्माण गरिएका छन् ।

मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानका लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कबाट त्रिवेणीघाटसम्म पुण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायत भौतिक संरचना निर्माण गरिएको छ । पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्सहरू टाँगिएका छन् ।

नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशीखोलातर्फ सिँढी तथा रोशीखोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निमाण तथा आवश्यकीय क्षेत्रमा अस्थायी शौचालय बनाइएको छ । पनौती नगरका सबै प्रकारका विद्यालय एक महिनाका लागि बन्द गर्न सूचितसमेत गरिएको थियो । मेला अवधभिर मल्पी ड्यामबाट नियमितरूपले रोशीखोला तथा मल्पी–लीलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइएको छ । यसका लागि खानी तथा खानीजन्य उत्खनन तथा पैठारी बन्द गरिएको छ ।