बिहिबार, बैशाख ०६, २०८१

कोरोना रोकथामका लागि तेरो, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छः प्रधानमन्त्री

काठमाडौं । नेकपा एमालेले कोरोना नियन्त्रण, रोकथाम तथा उपचार सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवलाई विभिन्न सुझाव दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । शनिबार बिहान एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको नेतृत्वमा योगेश भट्टराई , खगराज अधिकारी , कृष्णगोपाल श्रेष्ठ, विशाल भट्टराई कृष्ण राईलगायतको टोलीले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्रमा बिमितहरूको रकम उपलब्ध नभएको, टेस्टिङ्ग र ट्रेसिङ कार्यमा बृद्धि नभएको, औषधि, उपकरण, खोप र जनशक्तिको देशव्यापी उपलब्धताका लागि ठोस पहल नभएको, राजनीतिक दल तथा तीनै तहका सरकारका बीचमा प्रभावकारी समन्वय नभएको, कुटनीतिक पहल अत्यन्तै कमजोर रहेको उल्लेख छ । त्यस्तै कोभिडकोबारेमा अध्ययन र अनुसन्धानमा कुनै पहल नभएको उल्लेख गरिएको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ नियन्त्रका लागि सबै एक जुट हुनेपर्ने बताए । प्रधानमन्त्रीले सबै मिलेर कोरोना तेस्रो लहरलाई परास्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्रीलेले भने, ‘कोरोना नियन्त्रण र रोकथामका लागि तेरो पार्टी, मेरो पार्टी नभनी हामी सबै एक हुनुपर्छ।’ प्रधानमन्त्री देउवाले तेस्रो लहरसँगै आएको ओमिक्रोन भाइरस धेरै संक्रामक भएकाले सवधानी अपनाउन र सचेतना फैलाउन सरकारले पहल गरिरहेको पनि बताए । उनले आफूले सरकारको नेतृत्व गरेपछि कोभिड विरुद्धको खोप लगाउने संख्या बृद्धि भएको बताउँदै सबै खोप लगाउन योग्य नागरिकलाई दुवै डोज खोप लगाउनेगरी सरकार अघि बढेको पनि बताए।