बिहिबार, बैशाख १३, २०८१

अप्रिल १० मा पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन हुने

टोकियो,२ चैत :  नेपाल पत्रकार महासंघ जापानको तेश्रो अधिवेशन आगामी अप्रिल १० तारिखका दिन केन्द्रीय अध्यक्ष डा. महेन्द्र बिष्टको उपस्थितिमा टोकियोमा हुने भएको छ ।

अधिबेशनले आगामी कार्यकालको लागि नयाँ नेतृत्व सहितको कार्यसमिति गठन गर्नुका साथै प्रबासबाट कलम चलाईरहेका उत्कृष्ट पत्रकार १ जनालाई हरेक वर्ष पुरस्कृत गर्ने गरी पुरस्कार कोष स्थापनाको घोषणा गरिने भएको छ ।

अधिबेशनको बिहानी सत्रमा महासंघको आन्तरिक बन्दसत्र हुनेछ भने अपरान्ह पत्रकारिता सम्बन्धि प्रशिक्षण कार्यक्रम हुनेछ । तत्पश्चातको खुल्ला कार्यक्रममा नयाँ कार्यसमितिको घोषणासभा हुने कुरा अधिवेशन आयोजक समितिका संयोजक तिलक मल्लले बताउनुभयो ।

आगामी कार्यकालका लागि नयाँ नेतृत्वको टिम निर्माण गर्न सल्लाहकार भूषण घिमिरेको संयोजकत्वमा महासंघकी केन्द्रीय सदस्य पवन वर्षा शाह र सल्लाहकार कृष्ण भण्डारी रहनुभएको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । अधिबेशन टोकियोको शिनओकुबोस्थित आर्ट कोर्ट सभाहलमा हुने बताईएको छ ।