मङ्गलबार, बैशाख ०४, २०८१

अहंकार नदेखाउन नवनिर्वाचित नेताहरुलाई ओलीको निर्देशन

सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई अहंकार नदेखाउन निर्देशन दिएका छन् । मंगलबार चितवनको सौराहामा पार्टीको १० औं राष्ट्रिय महाधिवेशनको समापन गर्दै अध्यक्ष ओलीले नवनिर्वाचित केन्द्रीय कमिटी सदस्यहरुलाई जनताको सेवक बन्न र राष्ट्रको हितमा समर्पित भएर लाग्न निर्देशन दिएका हुन् ।

उनले भने, ‘हामीलाई हेरेर कस्तो तरिका, कस्तो शैली, कस्तो बोलिवचन अपनाउने भनेर अरु पार्टीका मानिसहरुले पनि अनुशरण गर्ने खालको हुनुपर्छ । हाम्रो आनीबानी नेता झैं हुनुपर्छ । कुनै पनि नेता घमण्डी, अहंकारी हुँदैन । अहंकारी मान्छे नेता हुँदैन । नेता भएपछि अहंकारी हुँदैन ।’ अनुशासन उल्लंघन सैह्य नहुने भन्दै उनले त्यसै अनुसार काम गर्न पार्टीका अनुशासन आयोगका पदाधिकारी तथा सदस्यहरुलाई निर्देशन दिए ।

आगामी तीन महिनासम्म पार्टीले एकीकरणको अभियान संचालन गर्ने भन्दै अध्यक्ष ओलीले त्यो अभियान पार्टीका कार्यकर्ताहरुबीच हुने र अरु पार्टीका कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउने बताए । अध्यक्ष ओलीले यही मंसीर २५ र २६ गते केन्द्रीय कमिटी बैठक बोलाउने र पार्टी पोलिटव्यूरो तथा स्थायी कमिटी गठन गर्ने जानकारी दिए ।