शुक्रबार, चैत १६, २०८०

कञ्चनपुरको घटनामा भारतले माफी र क्षतिपूर्ति दिनुपर्ने सांसद्हरुको माग

काठमाडौं,२७ फागुन । कञ्चनपुरको आनन्दबजारमा भारतीय पक्षबाट नेपालीको ज्यान जाने गरी भएको गोलीकाण्डलाई लिएर संसदमा प्रमुख राजनीतिक दलहरुले सरकारसँग जवाफ मागेका छन् । सो घटनाका सन्दर्भमा सरकारले र भारतीय दूतावासले जारी गरेको विज्ञप्तिको समेत संसदमा आलोचना भएको छ ।

व्यवस्थापिका संसदको शुक्रवारको बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद भीम रावलले यत्रो घटना हुँदा सरकारले सामान्य झारा टार्ने विज्ञप्ति जारी गरेर संसदलाई समेत उपेक्षा गरेको बताए । उनले भारतीय पक्षबाट क्षतिपूर्ति दिलाउन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाए ।

रावलले भने- आनन्द बजारको घटनाभन्दा केही दिनअघिमात्र एसएसबीका व्यक्ति नेपाली सीमानामा पसेर छन्द तामाङको घरबाट बाख्रा लुटेका थिए । हामीले त्यतिबेलै सरकारको ध्यानाकर्षण गराउँदा कुनै पहल नभएकाले आज एसएसबीबाट हाम्रो भूमिमा पसेर देशभक्त नेपालीको हत्या भएको छ ।

सरकारले भारतीय पक्षबाट माफी मगाएर क्षतिपूर्ति माग्न नसकेको भन्दै रावलले आपत्ति प्रकट गरे । उनले गोविन्द गौतमलाई देशभक्त योद्धा घोषणा गर्नुपर्ने माग गरे । सरकारले सार्वभौमिकतामाथि आक्रमण हुँदा पनि लाचारी देखाएर लम्पसारवादी चरित्र प्रदर्शन गरेको आरोप उनले लगाए ।

रावलले सप्तरीमा गौरजस्तै हत्याकाण्ड मच्चाउन पाइएन भनेर नेपाल बन्द गर्नेहरुलाई छुट दिने सरकारले देशभक्त नेपाली मारिँदा कुनै पहल गर्न नसकेको आरोप लगाए । संघीय समाजवादी फोरमका सांसद अशोक राईले भारतीय दूतावासको विज्ञप्तिलाई आधार बनाएर गौतमको हत्या रहस्यमय भनेकोमा समेत रावलले आपत्ति जनाए ।

उनले भने- यही संसदमा एकजना सदस्यले भारतीय दूतवासको विज्ञप्तिलाई मानेर घटना भएको होइन, होला भनेको पनि सुनियो । यस्तो कुरा सुन्दा आज देशभक्तहरुको मन छिया छिया भएको छ ।

विशेष समयमा बोल्दै नेपाली कांग्रेसका कञ्चनपुरकै सांसद तारिणीदत्त चतौटले नेपालभित्र पसेर भारतीय सुरक्षाकर्मीले नेपालीको हत्या गरेको बताए । उनले यस घटनाबारे सरकारले कुटनीतिक पहल गरेर पीडित परिवारलाई क्षतिपूर्ति दिलाउनुपर्ने बताए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका सांसद अग्नि प्रसाद सापकोटाले कञ्चनपुर घटनाबारे सरकारको विज्ञप्ति प्रष्ट हुन नसकेको बताए । उनले भने- राष्ट्रियताको विषयमा यता उता भन्ने हुन्न । गृहमन्त्रालयको विज्ञप्ति विरोधाभासपूर्ण छ,यसमा सरकारको धारणा प्रष्ट हुनुपर्छ ।

फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरीले कञ्चनपुरमा भारतले अनावश्यक बल प्रयोग गरेको भन्दै क्षतिपूर्तिका लागि पहल हुनुपर्ने बताए । उनले यो घटनाले राष्ट्रियता चुनौतिमा परेको बताए ।

नेपाल मजदूर किसान पार्टीकी अनुराधा थापा मगरले भारतले नेपाल र नेपालीलाई कहिल्यै चैनसँग बस्न नदिएको भन्दै कञ्चनपुर घटना त्यसैको निरन्तरता भएको बताइन् । उनले यस घटनाबारे प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनुपर्ने माग गरिन् ।