शनिबार, बैशाख ०८, २०८१

“दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” हुदैं

काठमाडौँ । नेपाल तामाङ कलाकार संघले “दोस्रो तामाङ मौलिक सेलो संगीत महोत्सव–२०७८” गर्ने भएको छ ।

कलाकार संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव  बौद्ध चुच्चेपाटी स्थित होटल हायातको खुल्ला मैदानमा आगामी मंसिर २४ र २५ गतेहुने  जानकारी दिएको हो । प्रत्येक वर्ष महोत्सव गर्ने भनिएता पनि कोरोनाका कारण गत वर्ष गर्न नसकिएको संघले जनाएको छ ।

महोत्सवमा तामाङ मौलिक गीत फापारे ह्वाई, खान्दोके भाका, ताम्बा गीत तथा नाच, म्हेन्दोमायाका साथमा तामाङ सेलोका विभिन्न भाकाहरू प्रस्तुत हुनेछन् । दुई दिनसम्म चल्ने महोत्सवमा सेलो गीतसंगीतका विभिन्न पक्षहरूबारे बहस तथा छलफल हुने आयोजकले जानकारी दिएको छ ।

तामाङ समुदायको उत्पत्ति तथा सभ्यतासँगै जोडिएको डम्फू अर्थात् ताम्बा संस्कृतिको संरक्षण, संवर्द्धन गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने ध्येयले महोत्सव आयोजना गरेको संघले बताएको छ। संघका अध्यक्ष विश्व दोङले डम्फू अर्थात् ताम्बा संस्कृतिसँगै आउने तामाङ सेलो संगीतमार्फत तामाङ जातिको पुर्खा, इतिहास, पहिचान तथा सभ्यताको जगेर्ना गर्न सेलो संगीत महोत्सव गर्दै आएको बताउनुभयो ।

ताम्बा तथा मौलिक सेलो गीतहरुको समेत प्रस्तुति रहने महोत्सवले समग्रमा तामाङ समुदायको सभ्यता र संस्कृतिको झल्को दिने बताउँदै उहाँले महोत्सवमा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबै कुरा समेटिएको प्रस्तुतिहरू हुने जानकारी दिनुभयो ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम बहादुर आलेले उद्घाटन गर्ने उक्त कार्यक्रम समापन भने बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुहुने आयोजकले  जनाएको छ ।