शुक्रबार, बैशाख ०७, २०८१

राजबिराज घटनापछि एमालेले भन्यो निर्वाचन हुन नदिने षडयन्त्र

काठमाडौं,२४ फागुन ।  नेकपा एमालेले सोमबार राजबिराजमा भएको घटनामा दुःख व्यक्त गरेको छ ।

मेची–महाकाली अभियानका क्रममा राजबिराजस्थित औधोगिक क्षेत्रमा विशाल जनसभापछि मधेसी मोर्चाले प्रहरीसँग गरेको झडपमा परी तीन जनाको मृत्यु भएपछि एमालेले तीन दिन अभियान स्थगित गरेको छ । एमाले स्थायी समितिको सोमबार बेलुका बसेको बैठकले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण  गरेको छ ।
एमालेले राजबिराजको घटनाबाट मधेसी मोर्चाको आवरणमा  संविधान असफल पार्ने षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधि भईरहेको पुष्टि गरेको विश्लेषण गरेको छ ।
विज्ञप्तीको पूर्ण पाठ
हाम्रो पार्टीको आह्वानमा यही फागुन २१ बाट सुरु भएको मेची–महाकाली राष्ट्रिय अभियान अन्यन्त भव्य, प्रभावकारी र शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको र अभियानमा लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको परिप्रेक्ष्यमा आज फागुन २३ गते राजविराजमा भएको घटनाबाट पार्टी दुःखी भएको छ ।

संविधानप्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको नेकपा ९एमाले० लाई प्रवेश निषेधको धम्की दिने, कार्यक्रममा सहभागी हुन हिडेका सर्वसाधारणमाथि सांघातिक आक्रमण गर्ने, कार्यक्रमस्थल नजिकै विस्फोटक पदार्थ बिछ्याउने र संयमतापूर्वक आफ्नो कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीहरुमाथि ढुंगामुढा, पेट्रोल बम प्रहार गर्ने जस्ता कामहरु गरेर मधेसी मोर्चाका कार्यकर्ताले अत्यन्त अराजक र हिंसात्मक गतिविधिहरु प्रदर्शन गरेका छन् । यसक्रममा आज राजविराजमा एकजनाको ज्यान जाने गरी दुःखद् घटना भएको छ ।

हाम्रो पार्टीले मुलुकलाई जबर्जस्ती मुडभेडतर्फ धकेलेर निर्वाचन हुन नदिने र अन्ततः संविधानलाई असफल पार्ने षड्यन्त्र हुँदै गरेको विश्लेषण विगतमै गरेको थियो । आजको घटनाले मधेसी मोर्चाको आवरणमा भइरहेका यस्ता षड्यन्त्रकारी र बिध्वांसात्मक गतिविधिलाई नै पुष्टि गरेको छ ।
स्थितिको संवेदनशीलता र सरकारलगायत विभिन्न पक्षको आग्रहलाई ध्यानमा राख्दै पार्टीले फागुन २४, २५ र २६ गते तीन दिनका लागि अभियानका कार्यक्रम स्थगित गरेको छ । फागुन २७  गतेदेखि मेची–महाकाली राष्ट्रिय अभियान पूर्ववत् सञ्चालन हुनेछ ।

योगेश भट्टराई
प्रमुख