बिहिबार, बैशाख ०६, २०८१

अब हुने तीनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा अब हुने तीनै तहको निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टीको पालिकास्तरका अधिवेशनको मंगलवार भर्चुअल माध्यमबाट उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री ओलीले मिति तय नभए पनि अब मुलुक निर्वाचनतर्फ अग्रसर भएकाले त्यसको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

एमाले बहुदलीय प्रतिस्पर्धाबाट हरेश नखाने र आगामी निर्वाचनबाट जनादेश प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । पार्टीको केन्द्रीय कार्यालयको वार रुमबाट सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘मुलुकका जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान तथा राष्ट्रियताको रक्षाका लागि एमाले विजयी हुनुको विकल्प छैन । जनादेश हाम्रो पक्षमा आउने आत्मविश्वासका लागि देशभर पार्टीका काममा क्रियाशील हुन म आह्वान गर्दछु ।’

एमालेले कात्तिक ६ गते सबै वडास्तरमा अधिवेशन गरेको थियो भने मंगलवार नगरपालिका र गाउँपलिकास्तरका अधिवेशनको मिति तय गरेको हो । सो पार्टीको दशौं राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०–१२ गतेसम्म बाग्मती प्रदेशको चितवनमा हुँदैछ ।