बिहिबार, बैशाख १३, २०८१

वर्षाबाट धानबालीमा पुगेको क्षतिको अध्ययन गर्न सरकारद्वारा कार्यदल गठन

काठमाडौं । सरकारले बाढीपहिरो तथा डुबानबाट धानबालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न कार्यदल गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले बेमौसमी वर्षाका कारण गएको बाढीपहिरो तथा डुबानबाट धान बालीमा भएको क्षतिको अध्ययन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न गृह मन्त्रालयका सचिवको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।

कार्यदलका अन्य सदस्यहरुमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसैगरी बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीको राशनको दररेटमा १५ प्रतिशत वृद्धि गर्ने पनि निर्णय गरेको छ । बैठकले नेपाल वायु सेवा निगमका अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको छ।

त्यसैगरी नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा. रवीन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ । बैठकले कोभिड महामारीबाट प्रभावित अति विपन्न परिवारलाई नगद हस्तान्तरण कार्यविधि २०७८ स्वीकृत गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए ।