बिहिबार, बैशाख ०६, २०८१

प्रधानन्यायाधीशद्वारा मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको आरोप अस्वीकार

काठमाडौँ । नेपाल बार एसोसिएसनका पदाधिकारीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग न्यायपालिका शुद्धिकरण र सुदृढीकरणलगायतका विषयमा छलफल गरेको छ ।

बारका पदाधिकारीले प्रधानन्यायाधीशसँग मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, पेसी तोक्ने विषयमा रहेका कमजोरी हटाउन नखोजेको लगायतका विषयमा छलफल गरेको हो । छलफलका क्रममा प्रधानन्यायाधीश जबराले गजेन्द्र हमाललाई मन्त्री बनाउने विषयमा आफ्नो कुनै संलग्नता नभएको बताएका छन् ।

बारका महासचिव लिलामणि पौडेलकाअनुसार प्रधानन्यायाधीशले गजेन्द्रलाई मन्त्री बनाउने विषयमा आफ्नो संलग्नता नभएको र श्रीमती २०४१ सालमा श्रीमतीको मृत्यु भएपछि ससुराली आउजाउ नभएको बताएका छन् । बारको टोलीसँग प्रधानन्यायाधीशले गजेन्द्रसँग आफ्नो नाम जोडिएपछि उहाँलाई मन्त्री नबनाइदिनुस् भनेको तर त्यसको सुनुवाई नभएको बताएका महासचिव पौडेलले जानकारी दिए ।

त्यसक्रममा प्रधानन्यायाधीशले मन्त्रिपरिषद् र संवैधानिक निकायमा भागबण्डा खोजेको आरोप अस्वीकार गरेका थिए । प्रधानन्यायाधीश जबरासँगको छलफलबाट केही निष्कर्ष ननिस्केपछि बारले फुलकोर्टसँग छलफल तय गरेको छ । बारका पदाधिकारीले सोमबार साढे १ बजे फुलकोर्टसँग छलफल गर्ने समय तय भएको छ ।