शुक्रबार, बैशाख ०७, २०८१

विवादमा पर्ने कुनैपनि काम नगर्न मन्त्रीहरुलाई माधव नेपालको निर्देशन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई इमान्दारिता र कर्तव्य निष्ठाका साथ देश र जनताको हितमा काम गर्न निर्देशन दिएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालमा बोलाएर अध्यक्ष नेपालले इमान्दारिता र कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिएका हुन् । उनले राष्ट्र र जनताको हितलाई केन्द्रबिन्दूमा राखेर काम गर्न मन्त्रीहरुलाई निर्देशन दिए ।

उनले निजी स्वार्थ, अनियमितता र भ्रष्टाचारजन्य प्रवृत्तिहरुबाट मुक्त हुन पनि मन्त्रीहरुलाई सचेत गराएका छन् । कुनै पनि संस्थामा व्यक्तिको छनौट गर्दा व्यक्तिको योग्यता, क्षमता र कार्यसम्पादनमा गरेको उत्कृष्टताको आधारमा गर्न पनि उनले सुझाव दिए। अध्यक्ष नेपालले मन्त्रीहरुबाट विवादमा आउने र बदनामी कमाउने कुनैपनि काम हुन नहुनेमा जोड दिए ।

पदीय मर्यादा र गरिमा विपरीतका काम नगर्न उनले मन्त्रीहरुलाई निर्देशन दिए । उनले गठबन्धनको भावना अनुसार अन्य राजनीतिक दलसँग पनि समन्वयमा काम गर्न अनुरोध गरे ।

मन्त्रीहरुको सल्लाहकार, स्वकीय सचिव लगायतका राजनीतिक नियुक्ति गर्दा पार्टीसँग सल्लाह गरेर मात्रै गर्न सुझाव दिए । उनले भने, ‘बदनामी कमाउने र विवादमा पर्ने कुनैपनि कामहरु तपाईंहरुबाट हुने छैनन् भन्ने कुराको हामीले आशा र अपेक्षा गरेका छौँ । स्वच्छ र सादा जीवन, असल आचरण र संस्कारको अवलम्बन गर्नुहुनेछ । मन्त्रीहरु रक्सी खाएर मात्तिए, बेलुका फाइभस्टार होटलमा गएर रक्सी खाइरहेका छन् र आफ्नो क्लाइन्टहरुसँग बसेर यिनै कुरा गरिरहेका छन् भन्नेकुरा सुन्नु नपरोस् ।’

अध्यक्ष नेपालले मन्त्रिपरिषद् बैठकमा आउने विभिन्न विषयवस्तुहरुमाथि अगाडी नै सामूहिक रुपमा बसेर, छलफल गरेर साझा राय बनाएर मात्रै प्रस्तुत हुनुपर्ने बताए । सिंगो मन्त्रिपरिषद्ले गर्ने निर्णयको जसअपजसको भागिदार सबै मन्त्री हुने उल्लेख गर्दै नेपालले मन्त्रिपरिषद्का विषयवस्तुहरु पार्टीलाई समेत जानकारी गराई, पार्टीको मार्गदर्शन लिएर प्रस्तुत हुनुपर्ने बताए ।